खोप नलगाएकाहरुलाई कोरोनाको खोप लगाउन खोज अभियान चलाइने

सुर्खेत । कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई खोप लगाउनका लागि खोज अभियान चलाइने भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले सुर्खेतमा अझैपनि खोप लगाउन अटेर गर्ने, नलगाएकाहरुलाई खोजी गरी खोपमा सामेल बनाउनका लागि खोज अभियान चलाउन लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको संयोजकत्वमा रहेको जिल्ला कोभिड खोप अनुगमन तथा समन्वय समितिको बैठकमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अझैपनि करिव १९ प्रतिशतले खोप नलगाएको बताए ।

उनले सुर्खेतमा हालसम्म ८१ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा, ७३ प्रतिशतले दुवै मात्रा खोप लगाएको र आठ प्रतिशतले बुस्टर मात्रा लगाएको जानकारी दिए । खोप लगाउने उमेर समूह १२ वर्ष माथि तोकिएको छ । खोप लगाउने उमेर समूहमा अझैपनि विभिन्न बहाना देखाएर १९ प्रतिशत छुटेकाले उनीहरुलाई खोजी गरी खोप लगाइने तयारी भइरहेको उनको भनाइ छ ।

कार्यालयका अनुसार सुर्खेतको जनसंख्या चार लाख २५ हजार ६१६ मध्ये दुई लाख ६५ हजार ३६६ जनाले पहिलो मात्रा, दुई लाख ४० हजार ३२३ जनाले दुवै मात्रा र २५ हजार ९९० जनाले थप मात्रा खोप लगाएका छन् ।

कोही भारतबाट आएको, कोही खोप केन्द्र टाढा भएको र कोही विभिन्न वहानाबाजी गरेर अझैपनि खोप नलगाउने गरेको पाइएकोले उनीहरुको खोजी गरी खोप केन्द्र संचालन गरेर अभियानमा खोप लगाइने जानकारी निमित्त प्रमुख गौतमले दिए । भौगोलिक विकटता भएका स्थानमा घुम्ती खोप संचालन गर्ने र पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने कार्यक्रमपनि सो अभियानमा चलाइनेछ ।

वीरेन्द्रनगरलाई खोपयुक्त पालिका घोषणाको तयारी

यसैवीच वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने प्रारम्भिक तयारी थालिएको छ । हाल वीरेन्द्रनगरमा ११२ प्रतिशतले पहिलो मात्रा, ११६ प्रतिशतले दुवै मात्रा र १६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् ।

नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक भूपेन्द्रदेव गिरीले ९५ प्रतिशतले खोप लगाएको खण्डमा खोपयुक्त पालिका घोषणा गर्न सकिने बताए । उनले आवश्यक प्रक्रियाहरु पूरा गरिए वीरेन्द्रनगरलाई कर्णालीको पहिलो कोभिड खोपयुक्त पालिका घोषणा गर्न सकिने जनाए । एक लाख २९ हजार ९८९ जनसंख्यामा एक लाख ११ हजार ६३० जनाले पहिलो मात्रा, एक लाख १५ हजार ५३० जनाले दुवै मात्रा र १६ हजार ५५ जनाले थप मात्राको खोप लगाएको नगरपालिकाले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आवश्यक तयारीहरु गरेर वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त घोषणा गर्न सवैको सहयोग आवश्यक पर्ने बताए । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले २५ प्रतिशत घरधुरी छनौट गरी सर्वेक्षण गरी त्यसैको आधारमा पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सकिने मापदण्ड रहेको बताए ।

चैतमा टाइफाइड खोप अभियान

यसैगरी आगामी चैत महिनामा देशभर एकैसाथ टाइफाइड खोप अभियान संचालन हुने भएको छ । चैत २५ गतेदेखि २०७९ बैशाख १८ गतेसम्म देशभर एकैसाथ खोप अभियान संचालन हुने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । सो अभियानमा १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई अनिवार्य खोप लगाइनेछ ।

कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले टाइफाइड खोप विद्यार्थीहरुलाई लक्षित रहेकोले विद्यालयमै खोप केन्द्र बनाएर खोप लगाइने बताए । उनले खोप अभियान प्रभावकारी बनाउन सरोकारवाला पक्षहरुसँग आग्रह गरेका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकालाई खोपयुक्त घोषणा गर्नु अघि प्रभावकारी अनुगमन गर्नुपर्ने र टाइफाइड खोप अभियान सफल बनाउन सवै पक्षसँग सहयोगको आग्रह गर्ने बताए ।