गुराँसमा जेसी अडिट सम्बन्धी अभिमुखीकरण सुरु


दैलेख । गुराँस गाउँपालिका दैलेखमा आजदेखि लैगिंक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (जेसी अडिट) सुरु गरिएको छ । गाउँपालिकाको आयोजना तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको समन्वयमा कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,आठ वटै वडाका वडा अध्यक्षहरु, महिला सञ्जाल, दलित सञ्जाल, अपांगता सञ्जाल, युवा सञ्जाल, बालक्लब, विषयगत शाखाका शाखा प्रमुखहरुको सहभागीता रहेको छ ।

लैगिंक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि २०७६ बमोजिम हरेक वर्ष स्थानीय तहले जेसी अडिट गर्नुपर्ने हुन्छ । जेसी क्षेत्रमा स्थानीय तहले गरेको कामका एकसय वडा प्रश्नहरु कार्यविधिमा उल्लेख छन् । सोही बमोजिम काम भए नभएको विषयमा अडिट गरि जेसी अडिट प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ । प्रतिवेदनमा जेसीको क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष र आगामी वर्षको कार्ययोजना समेत समावेश गरिन्छ ।

सहभागीहरुसँग विभिन्न चरणमा छलफल गरि जेसी क्षेत्रको बास्तविकता पहिचान गरि बजेट,नीति , कार्यक्रम तर्जुमा र छुटेका विषयहरु आवधिक योजनामा समेत समावेश गर्नुपर्ने हुन्छ ।

अभिमुखिकरण कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि.सीले भौतिक विकासलाई मात्रै विकास मान्ने प्रचलनबाट माथी उठेर सामाजिक विकासमा धेरै लगानी गर्नुपर्ने र सिमान्तकृत समुदायहरुको पहुँचमा बृद्धि गर्ने आँफुहरुको लक्ष्य रहेको बताए ।

भौतिक संरचना निर्माणदेखि हरेक कार्यक्रमहरु जेसी एंगलबाट सोचेर गर्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेश प्रतिक्षण प्रतिष्ठानका टिम लिडर शिल्पा कुँवर, प्रतिष्ठानका लैससास फोकल पर्सन बेवी शाह लगायतको सहभागीता रहेको थियो । कार्यक्रम तिनदिनसम्म सञ्चालन हुनेछ ।