दैलेख । गुराँस गाउँपालिका न्यायिक समिति सचिवालयको आयोजनामा मेलमिलाप सम्बन्धी पुनर्ताजकी तालिम सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको तालिम आज बिहिबार समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले न्यायको क्षेत्रमा न्यायिक समितिले खेलेको भुमिका अतुलनिय रहेको बताए ।
उनले नेपालको संविधानले धारा २१७ मा गरेको व्यवस्था बमोजिम गठित न्यायिक समिति साँच्चै नागरिकहरुलाई न्याय दिने थलो बन्नुपर्ने धारणा राखे । बि.सीले स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ८ मा न्यायिक समितिको स्पष्ट क्षेत्राधिकार तोकिएकोले न्यायको क्षेत्रमा स्थानीय तहले कती काम गर्न सक्छ भन्ने कुरामा नअलमलिन समेत न्यायिक समितिलाई आग्रह गरे ।
गुराँस गाउँपालिकामा न्यायिक समितिले ऐन बमोजिम कार्य गर्नका लागि सबै संरचना तथा कर्मचारीको समेत व्यवस्था गरि क्षेत्राधिकार भित्रका विवादहरु नियमित समाधान गरिरहेकोमा धन्यबाद दिँदै वडा तहमा गठन हुने मेलमिलाप केन्द्रहरुले समेत प्रक्रिया पुरा गरि विवादहरु वडा तहबाटै समाधान गरे नागरिकलाई नजिकको सरकारको अनुभूति हुने उनले तर्क गरे ।
कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक शिवाकुमारी खड्काले आँफुले न्यायिक समितिको संयोजकको जिम्मेवारी पाउँदा कुनै संरचना नभएपनि अहिले आगन्तुकले समेत अवलोकन गर्न लाएक समितिको सचिवालयको व्यवस्थापन गर्न सकिएको बताईन् । उनले न्यायिक समितिले गत आर्थिक वर्षमा ४४ वटा विवाद समाधान गरेको र चालु आ.व मा दर्ता भएका २६ वटा विवादमा १७ वटा विवाद समाधान गरिसकेको बताईन् ।
उनले सकेसम्म विवादहरु मेलमिलापको माध्यमबाट समाधान गर्ने गरेको भन्दै चालु आ.वमा समाधान गरिएका विवादमा १२ वटा मेलमिलापकै माध्यमबाट समाधान गरिएको बताईन् ।
न्यायिक समिति स्थानीय तहको सरल अदालत भएकोले यसको मर्म बुझेर कानुनको अक्षरस पालना गर्नुपर्ने धारणा उनले राखेकी हुन् । तिन दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षकको रुपमा अधिवक्ता गणेशबहादुर वली र मेलमिलाप सहजकर्ता सुनिता कुमारी चन्दको सहभागीता रहेको थियो ।
फरकबाटो ३ जेष्ठ २०८१, बिहीबार २१:२८