राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता


सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।

त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने बताएका छन् । उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने समेत बताएका छन् ।

भोलि बिहान कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने भएको छ ।

कतारका राजा थानी दुई दिने राजकीय भ्रमणका लागि काठमाण्डौ आइपुगेका हुन् । राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका राजा थानी आज दिउँसो पौने ४ बजेतिर विशेष विमानमार्फत काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।

कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको थियो ।