एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त


सुर्खेत । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख नजिर मियाँले आजसम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

यसअघि एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि कांग्रेसले एकीकृत समाजवादीलाई समर्थन गर्ने बताएको थियो । यो विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी पनि भएको थियो ।

देउवाले वैकल्पिक गठबन्धन बनाउनको लागि नेपाली कांग्रेस एकीकृत समाजवादीलाई सघाउन तयार रहेको बताएपनि सुदूरपश्चिममा सत्ता गठबन्धन भत्किएमा अरू प्रदेश र केन्द्रसम्म धक्का लाग्ने भएकाले एमालेले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

यसअघि एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । यस्तै माओवादी, एमाले र नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेका थिए ।