
सुर्खेत । उपत्यकामा ३५ सय छाप्रा भत्काउने सूचीमा रहेका छन् । महानगरको डोजर बस्तीमा छाप्रा भत्काउन पसेपछि थापाथलीको सुकुम्बासी टोलका बासिन्दा सोमबारदेखि आन्दोलित छन् । यहाँका १ सय ३६ छाप्रामा डोजर चलाउने महानगरको तयारी थियो ।
तर, काठमाडौं उपत्यकाभित्र मात्रै खोला किनारमा ३५ सय छाप्रा छन्, जो नदी सौन्दर्यकरणका क्रममा भत्काउनुपर्ने सूचीमा छन् ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदी करिडोरमा सडक, पार्क र ढल व्यवस्थित गर्ने काम गर्दै आएको छ । त्यसक्रममा कतिपय ठाउँमा सुकुम्बासी बस्तीका कारण काम अवरुद्ध रहेको समितिको भनाइ छ ।
समितिले परियोजना क्षेत्र र खोला किनारमा रहेका बस्तीमा पुगेर सर्वेक्षण गरेको छ । ती परिवारलाई जमिन खाली गराउनसमेत आग्रह गरिएको छ । समितिले गरेको अध्ययनअनुसार काठमाडौं महानगरपालिकामा मात्रै दुई हजार १ सय ७० छाप्रा छन् ।
त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठमा १ सय ५६, गोदावरी नगरपालिकामा २ सय १५, ललितपुर महानगरपालिकामा १७ र भक्तपुरमा ७ सय ७३ गरी ३ हजार ४ सय २१ छाप्रा छन् ।
समितिले यी सबै बस्ती खाली गराउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरिरहेको छ भने थापाथलीमा डोजर चलाएपछि अन्यत्र क्रमशः खाली हुने अनुमान छ ।

फरकबाटो १७ मंसिर २०७९, शनिबार ११:३४