बैंकमार्फत पाउने भए राउटेले भत्ता, खोलियो १३७ जना राउटेको खाता


दैलेख । राउटेहरुले अबदेखि सामाजिक सुरक्षा भत्ता बैंकमार्फत पाउने भएका छन् । गुराँस गाउँपालिका वडा नं ८ का बासिन्दा उनीहरुलाई  बैंक खातामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि गृहकार्य सुरु गरिएको  गुराँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले जानकारी दिए ।

उनका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ पादुकामा बस्दै आएका राउटेको बस्तीमा गई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता दिनेगरी खाता खोल्ने प्रयोजनका लागि व्यक्तिगत विवरण लिने लगायतका कामहरु गरिएको  प्रमुख दाहालले बताए ।

यस्तै राउटेको तेस्रो त्रैमासिक भत्ता हिजो आइतबारदेखि वितरण गरिएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ पादुकामा रहेका राउटेको बस्ती मै गई भत्ता वितरण गरिएको हो । प्रतिव्यक्ति बाह्रहजार रुपैयाँका दरले उनीहरुलाई भत्ता वितरण गरिएको हो । १३७ जनाको जम्मा १६ लाख ४४ हजार रुपैयाँ वितरण गरिएको हो ।