बालविवाहले निम्त्याएको कुपोषण र घरेलुहिंसा

सुर्खेत । नलगाड नगरपालिका ४ प्युली जाजरकोटकी धर्मशिला पुनले १३ वर्षको उमेरमा बिवाह गरिन् । ३५ वर्षीय धर्मशिलाले पाँच सन्तान जन्माइसकेकी छन् । विद्यालय सम्म नदेखेकी उनी परिवारको खम्बा नै हुन् ।

उनका श्रीमान् त छन् तर हलो जोत्नेदेखी घरको छानो सम्म धर्मशिलाले नै छाउनुपर्छ । पाँच छोराछोरीको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी धर्मशिलालाई नै बढि छ । उसो त धर्मशिलाका श्रीमान पनि मजदुरी गर्छन् ।

धर्मशिलाले पाँचसन्तान सकुशल जन्माईन् । सबैको स्वास्थ्य अवस्था राम्रो हुँदाहुँदै कान्छो छोरा पाँचवर्षको उमेरदेखी कुपोषणका कारण थलिए । तर धर्मशिलालाई यो कुपोषणका कारण भएको भन्ने थाहा भएन ।

करिब तिनवर्ष कुपोषणबाट थलिएका छोरालाई उनले धामीझाँक्रि गरिन् । खुट्टा सुन्निने र दुख्ने हुन थालेपछि निरन्तर तिनवर्षसम्म उनले धामीझाँक्रि गरेकी हुन् । धामीझाक्रि गर्दा उनले करिब डेढलाख रुपैयाँ खर्च गरिन् ।

धामीझाँक्रिबाट छोरालाई निको नभएपछि उनले अन्तिम विकल्पको रुपमा अस्पताल देखाईन् । डाक्टरहरुको सल्लाह बमोजिम उनले छोरालाई कर्णाली प्रदेश अस्पतालको पोषण पुर्नस्थापना गृहमा राखेकी छन् । अहिले धर्मशिलाका छोराको अवस्था सुधार हुँदै गएको छ ।

सानै उमेरमा विवाह गरेकी उनले लगातार छोराछोरीलाई जन्म दिईन् तर उनीहरुको हेरचाह र पोषणमा ध्यान दिन सकिनन् ।

एकातिर छोराछोरीको गास जुटाउने चिन्ता अर्कोतिर श्रीमानले दिएको पिडा जसका कारण उनी निकै कमजोर भइसकेकी छन् । धर्मशिलाको घरमा आर्थिक अधिकार छैन तर श्रम भने उनले मात्रै गर्छिन् ।

‘सुत्केरी मै पनि काम गर्न जान्थेँ’ उनले भनिन्“घरमा भएको रुखो निक्लो पनि समयमै खान दिन सकिएन । काम नगरी भोकै परिने, काम गर्न गए छोराछोरीले समयमै खान नपाउने ।”बालविवाहकै कारण आँफुले बिध्न समस्या भोग्नुपरेको उनी स्विकार्छिन् ।

उनी जस्तै बनगाढ–कुपिण्डे नगरपालिका सल्यानकी रिता बुढाथोकीले १७ वर्षको उमेरमा विवाह गरेकी हुन् । सानै उमेरमा गरेको विवाह र उमेरै नपुगी जन्माएकी छोरी कुपोषीत भएपछि उनी समेत प्रदेश अस्पतालमा रहेको पोषण पुर्नस्थापना गृह सुर्खेतमा बस्दै आएकी छन् ।

‘सानै उमेरमा विवाह गर्दा धेरै समस्या आउने रैछ’ उनले भनिन् “सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा आमा मात्रै नभई जन्मने छोराछोरीलाई समेत असर गर्दो रहेछ ।” आँफुले सानै उमेरमा विवाह गरेर भोगेको समस्याका कारण अन्य बालिकाहरुलाई विवाह नगर्न सुझाउने गरेको उनले सुनाईन् ।

पञ्चपुरी नगरपालिका वडा नं ६ सुर्खेतकी रबिना रोकायले समेत सानै उमेरमा विवाह गरिन् । उनले जन्माएको सन्तान समेत कुपोषणको शिकार भएको छ । उनकी एकवर्षीय छोरीलाई कर्णाली प्रदेश अस्पतालको पोषण पुर्नस्थापना गृहमा राखेकी छन् । भन्छिन् “यो सानै उमेरमा गरेको विवाहको परिणाम हो ।”

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । कर्णाली प्रदेशका अधिकाँश महिलाहरु बालविवाहकै कारण घरेलुहिंसा खेप्न बाध्य छन् । उनीहरुबाट जन्मिएका बच्चाहरु समेत सोही कारण कुपोषीत हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ तथा बालरोग विभाग प्रमुख डा.नवराज केसीका अनुसार आमाको उमेर पुगेर जन्मिएका शिशुको तुलनामा उमेर नपुगेर जन्मिएका शिशुहरुको मृत्युदर समेत २.५ प्रतिशत बढि हुने गरेको छ ।

नेपालमा सांस्कृतीक हिसाबले नै बालविवाह गर्ने चलन समेत रहेको उनको तर्क छ । ‘बालविवाह गरेका कारण बच्चा हुर्काउनलाई आमाको गर्भ तयार भएको हुँदैन ।’ उनले भने “ बच्चाको मष्तिष्क ७० प्रतिशत आमाकै गर्भमा रहँदा बृद्धि हुन्छ । बाँकी ३० प्रतिशत दुध चुस्दा–चुस्दै बृद्धि हुने हो ।” सानै उमेरमा जब गर्भ राख्नकै लागि तयार नभएको अवस्थामा कसरी बच्चाको विकास हुन्छ ? उनी प्रश्न गर्छन्

सानै उमेरमा बच्चा जन्माउँदा बच्चाको मष्तिष्क पुर्ण विकास नहुने र आमाको दुध समेत नआउने हुनाले झनै समस्या हुने उनले सुनाए ।

बालविवाहका कारण परिवार नै आर्थिक चक्रमा फस्ने उनले तर्क गरे । आमाको दुध नआउने भएपछि बच्चा कुपोषीत हुने, बिरामी पर्ने, आमापनि कमजोर हुने र परिवारमा आर्थिक अभाव भई द्धन्द्ध सृजना हुने उनले सुनाए । कर्णाली प्रदेशमा अझै महिलाले नै काम गर्नुपर्ने प्रचलन भएको कारण उनी नै बिरामी परेपछि आर्थिक अभाव संगै हिंसाको समेत सुरुवात हुने उनले बताए ।

बालविवाहले परिवार मात्रै नभै देशलाई नै ठुलो क्षती हुने गरेको उनले सुनाए । बालविवाह, कुपोषण र घरेलुहिंसा एउटा चक्र भएको उनले बताए । त्यसैले सानै उमेरमा विवाह गर्न नहुने उनको भनाई रहेको छ । राज्यले समेत बालविवाह रोक्न सके हिंसा र शिशुमृत्युदर समेत रोक्न सकिने उनले जानकारी दिए ।