‘कुष्ठरोगीलाई धामी–झाँक्री होइन अस्पताल लैजानुपर्छ’

जाजरकोटको तत्कालिन सग्ला गाबिसका ५८ वर्षीय धनबहादुर बि.कलाइ २१ वर्षको उमेरमा कुष्ठरोगको लक्षण देखियो ।

अनुहारमा दागहरु आउने, बिबिरा आएको ठाउँमा पाक्ने लगाएतका लक्षण देखिन थाल्यो । उनले त्यस्ताखालका लक्षण देखिन थालेपछि करिब तिनवर्षसम्म धामी–झाँक्रि गर्न थाले । तर उनको समस्या झनै झाँगिदै गयो उनले समस्याबाट मुक्ति भने पाएनन् ।

२०४३ सालमा उनी साईनिङ अस्पताल आइ.एन.एफ सुर्खेतमा उपचारको लागि आए । उनको अवस्था देखेर गाउँका एकजना शिक्षकले उनलाई सुर्खेतमा उपचार हुने कुराको जानकारी गराएका थिए ।

सुर्खेतमा बसेर करिब ६ वर्ष औषधि सेवन गरेपछि उनी पुर्ण रुपमा निको भए । तर गाउँमा छँदा आफन्तहरुले गरेको दुव्र्यवहार र घृणा भने उनले आजपनि सम्झन्छन् । पानी छोएको नखाने, नजिक हुन नखोज्ने व्यवहारले उनलाई नरमाइलो लाग्थ्यो ।

गाउँघरमा कोडीको उपनाम पाएको कुष्ठरोग समयमै उपचार पाएपछि निको हुँदो रैछ भन्ने कुराको गतिलो उदाहरण हुन् धनबहादुर । उनीमा कुष्ठरोगका कारण अपाता पनि छैन ।

‘कुष्ठरोगका लक्षण देखिन बित्तिकै अस्पताल जानुपर्छ’ उनी भन्छन् “समयमै उपचार गरे अपाङता पनि आउँदैन । पुर्ण रुपमा कुष्ठरोगबाट मुक्ति पाइन्छ ।” कुष्ठरोग लागेपछि धामी– झाँक्रि भन्दा समयमै अस्पताल जानुपर्ने उनले सुनाए ।

उनी जस्तै पिडा भोगेकी दुल्लु नगरपालिका दैलेखकी छबिमाया विष्ट पनि समयमै उपचार नपाएर अपाङताको शिकार भएकी छन् । ८७ वर्षीय छबिमाया घरकी आठौं छोरी हुन् । दुईवटा आमाबाट दशबहिनी छोरी र दुईभाई छोरा मध्य उनी घरकी आठौं छोरी थिएन् ।

करिब १३ वर्षको उमेरदेखी खुट्टा फुट्ने,शरीरमा रातो दागहरु देखिन थालेपछि उनलाई समेत कोडीनी भन्न थालियो । गाउँघर मात्रै होइन छबिमायालाई घरमा पनि विभेद हुन थाल्यो । मावली देवता बिग्रिए भन्दै लामो समय धामी झाँक्रीमै लागेपछि बिस्तारै उनका हातखुट्टा नै नचल्ने भए ।

‘मर्न नसकेर माता बनेर हिड्छु भन्दै धेरै पटक घर छोडेँ ’ उनले भनिन् “ उनीबेला बिवाह गर्ने उमेरमा झनै शरीरमा समस्या देखियो ।”
करिब २०४५ सालतिर साइनिङ अस्पताल आइ.एन.एफ सुर्खेतबाट गएको शिबिरले छबिमायालाई सुर्खेतमा ल्याएर उपचार ग¥र्यो ।

सुर्खेत झरेपछि आँफुजस्तै कुष्ठरोगीसंग उनले बिवाह गरिन् । अहिले उनी पुर्णरुपमा निको भएकी छन् । तर समयमै उपचार गर्न नपाएको कारण उनीमा अपाङता छ । उनी भन्छिन् ‘ कुष्ठरोग पापका कारण हुने होइन रोगै हो । समयमै उपचार गरे निको हुन्छ । ’

कुष्ठरोग पापका कारण वा देवताका कारण हुन्छ भन्ने मान्यता आजपनि कर्णालीमा छ । पुरानो पुस्ताले कुष्ठरोगलाई पापका कारण हुन्छ भन्ने सोच राखेपछि नयाँ पुस्ता भने अस्पताल नै जानुपर्छ भन्दै वकालत गर्दै आएको छ । जसले गर्दा अस्पताल आउने कुष्ठरोगीहरुको संख्या समेत बढि देखिन्छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाँचवर्षको अवधिमा ४ सय ४१ जना नयाँ कुष्ठारोगीहरु फेला परेका छन् । जसमा आर्थिक वर्ष २०७३/०७४ मा १ सय १५ जना, आर्थिक वर्ष २०७४/०७५ मा १ सय १५ जना, २०७५/०७६ मा ८९ जना , आ.व २०७६/०७७ मा ५५ र २०७७/०७८ मा ६७ जना नयाँ बिरामी फेला परेका हुन् ।

निर्देशनालयका निर्देशक डा. रबिन खड्काले कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि लामो समयसम्म पत्ता नलाग्ने भएको कारण समयमै उपचार गर्न समस्या हुने बताए । उनले कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा रहेको जानकारी दिए । राज्यले कुष्ठरोगीहरुको उपचारको लागि बजेट र अपाङता भएकाहरुलाई संरक्षणको निति ल्याउनुपर्ने तर्क गरे ।