सुर्खेत । वि.स २०१८ साल कात्तिक महिनाको २५ गते भाइटिकाको दिनमा साविक सेरी गा.वि.स वडा नं ९ हाल गुराँस गाउँपालिका वडा नं ४ गाईबान्ना दैलेखमा जन्मिएका हुन् । बुवा मनीराम कँडेल र आमा भागीरथी कँडेलको कोखबाट जन्मिएका उनी हाल वीरेन्द्रनगर ४ भैरवस्थानमा बस्दै आएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक (विएड, एमकम) गरेका उनी राजनितिमा २०३६ सालदेखि प्रवेश गरेका हुन् ।
२०३६ सालमा सुर्खेतको दशरथपुरमा पंचायती शासकविरुद्ध किसान आन्दोलनबाट उनलाई राजनितिमा सक्रिय बनायो। तत्कालीन अवस्थामा उनी हालको शिखर मावि रामघाटमा शिक्षण पेशामा संलग्न थिए ।
२०३९ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनिति शुरु गरेका उनी महेन्द्र बहुमुखी क्याम्पसको प्राकको सदस्य, सचिव हुदै अञ्चल कमिटी सदस्य, अञ्चल कमिटी सचिव हुदै केन्द्रीय कमिटी सदस्यसम्म पुगे ।
त्यस्तै २०४२ सालदेखि २०४६ सालसम्म नेकपा (एमाले) काठमाण्डौंको विद्यार्थी फाँटको काममा संक्रिय रहेका उनले कमिटीको सदस्य हुंदै कार्यवाहक सचिवसम्मको जिम्मेवारी वहन गरे ।
उक्त जिम्मेवारी वहन गर्दागर्दै उनले २०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाण्डौंको भद्रगोल जेलघरमा ९ महिना जेलजीवन समेत बिताउन पर्यो । २०४९ सालमा नेकपा (एमाले) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित बने । साथै प्रजातन्त्र स्थापनापछि २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखमा समेत निर्वाचित बने ।
त्यस्तै २०५१ सालमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएर उनी मध्यावधि निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सुर्खेत क्षेत्र नं २ वाट प्रतिनिधिसभा सदस्य निर्वाचित बने । २०५२ सालमा नेकपा (एमाले) भेरी अञ्चल सचिवमा निर्वाचित बनेका कँडेल २०५४ सालमा ३६ वर्षको उमेरमा नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री बने ।
२०६२र२०६३ सालमा राजा ज्ञानेन्द्रको निंरकुशता विरुद्धको आन्दोलनमा सक्रिय सहभागीता जनाएका उनले आन्दोलनको नेतृत्व गर्दा सुर्खेतको वीरेन्द्रनगरबाट गिरफ्तार भई सुर्खेत कारागारमा ३ महिना जेल बस्नुपर्यो ।
२०६४ सालको पहिलो संविधासभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ वाट संविधान सभा सदस्य निर्वाचित बनेका उनी पार्टीको नवौं महाधिवेशबाट केन्द्रीय सदस्य हुदैं पोलिटव्यूरो सदस्यमा निर्वाचित भए र तत्कालिन भेरी अंचल इन्चार्ज हुदै पार्टीको कर्णाली प्रदेश सहसंयोजक बने ।
२०७२ सामामा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदुरपश्चिम प्रदेशमा मिसाएपछि छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाई गर्ने नेताको रुपमा उनलाई लिइन्छ र फलस्वरुप कर्णाली प्रदेश प्राप्तीमा नेता कँडेलको ठुलै योगदान रहेको छ ।
२०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेताको रुपमा काम गरे।
२०७८ सालमा चितवनमा सम्पन्न नेकपा (एमाले) पार्टीको दशौं महाधिवेशन पछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका निभाएका कँडेल हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज भएर काम गरिरहेका छन् ।
२०७९ सालमा सुर्खेत क्षेत्र नं २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा निर्वाचित भएका हुन् ।
हालसम्म उनी अमेरिका, क्यानाडा, चीन, श्रीलंका, बेलायत, टर्कीलगायतका देशहरुमा विदेश भ्रमण गरिसकेका छन् ।
फरकबाटो २८ चैत्र २०८०, बुधबार ११:५७