कर्णाली प्रदेश : सात महिनामा ८ प्रतिशत पुँजिगत खर्च


सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा आठ प्रतिशत पुंजिगत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सात महिनाको अवधिमा पूँजिगततर्फ आठ दशमलब ७३ प्रतिशत मात्रै बजेट खर्च गरेको हो । सरकारले स्थापना भएदेखि नै पुँजिगत खर्च सन्तोषजनक गर्न सकेको छैन् ।

 माघ मसान्तसम्म प्रदेश सरकारले जम्मा १२ दशमलब ४४ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट मध्य माघ मसान्तसम्म चार अर्ब ५५ करोड ६४ हजार २५८ रुपियाँ बजेट खर्च गरेको छ । सरकारले चालुतर्फ १८ दशमलब ११ र पूंजिगततर्फ ८ दशमलब ७३ प्रतिशत गरेको कार्यालयले जनाएको छ ।

पुँजिगत बजेट बढी हुने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यस अवधिमा ९ दशमलब ३२ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ११ अर्ब २३ करोड २९ लाख ३९ हजार मध्य एक अर्ब ४६ करोड ३६ लाख ६८५ रुपैयाँ खर्च गरेको हो । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ दशमलब ७० प्रतिशत बजेट खर्च गरेको छ । कार्यालय चार अर्ब ४९ करोड ८६ लाख ६ हजार रुपैयाँ बजेट मध्य १६ करोड ६५ लाख ८७ हजार ६३५ रुपैयाँ बजेट खर्च गरेको हो ।

यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले १५ दशमलब ६३ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले दुइ अर्ब ४२ करोड ६४ लाख ७९ हजार रुपैयाँ बजेट मध्य ३७ करोड ९१ लाख ४२ हजार ६६८ रुपैयाँ प्रतिशत बजेट खर्च गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले २० दशमलब ३८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ६४ करोड ६६ लाख ४० हजार बजेट मध्य १३ करोड १७ लाख ७० हजार १९८ रुपैयाँ बजेट खर्च गरेको छ ।

यस्तै जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ४ दशमबल ५ प्रतिशत बजेट खर्च गरेको छ । तीन अर्ब ५६ करोड ३६ लाख ३५ हजार रुपैयाँ बजेट मध्य १६ करोड २७ लाख नौ हजार ५७२ रुपैयाँ बजेट खर्च गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १४ दशमलब १२ प्रतिशत बजेट खर्च गरेको छ ।

मन्त्रालयले दुई अर्ब ९५ करोड ८० लाख पाँच हजार रुपैयाँ बजेट मध्य ४१ करोड ७५ लाख ४६ हजार ६९५ रुपैयाँ बजेट खर्च गरेको हो । सामाजिक विकास मन्त्रालयले २३ दशमलब १४ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले पाँच अर्ब ८६ करोड ७३ लाख ६९ हजार मध्य एक अर्ब ३५ करोड ७९ लाख १५ हजार २३२ रुपैयाँ खर्च गरेको छ । .