इन्डोनेसियाको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झण्डोत्तलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७ औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय पानीखोखरीमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तोलन गरे । कार्यक्रममा ढकालले इन्डोनेसियाको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदान प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसियाआसियान राष्ट्रहरुमध्यको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसिया बीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।