जनयुद्धका घाइते भन्छन् : त्यही युद्धले कसैलाई सदनमा त कसैलाई सडकमा पुर्‍यायो


सुर्खेत ।

मर्न तयार भयौं बरु झुकेनौ युद्धमा
गोली खान तयार भयौं लुकेनौं युद्धमा
अवसरबादी भए हाम्रा सबै नेताहरु,
हामीलाई बर्वाद बनाइयो किन, लगेर युद्धमा

भेट हुने बित्तिकै उनले यही मुक्तकबाट परिचय सुरु गरे । उनी पटक–पटक यही भाव बोल्छन् र मुक्तकमार्फत आफ्नो बेदना अरुलाई सुनाउँछन् । उनी विभाजित वर्ग परिवर्तन गर्न चाहान्थें । कोही धनी नहुन्, कोही गरिब नहुन् र कसैको पेट भोको नहोस् । कसैलाई दुख पर्दा संरक्षक कोही भैदियोस् । यस्तै व्यवस्था आउने आशामा उनी जनयुद्धमा होमिएका थिए ।

पञ्चपुरी नगरपालिका ८ विद्यापुर सुर्खेतका चेतन सिग्देल २०६० सालमा नेकपा माओबादीको जनसांस्कृतिक संघमा आवद्ध भएका हुन् । त्यो भन्दा पहिले उनले गाउँमै बसेर पार्टीलाई सहयोग गरे ।

जनमिलिशियाको प्रमुखको रुपमा उनले विद्यापुरमै बसेर काम गरे । साँच्चै परिवर्तन गर्नका लागि भुमिगत नै हुनुपर्छ भन्दै उनी जनसांस्कृतिक संघमा नृत्य र अभिनय गर्ने विधामा सहभागी भए ।

त्यति मात्रै होइन अब परिवर्तनका लागि हतियार नै उठाउनुपर्छ भन्दै उनले २०६१ सालमा जनमुक्ति सेनाको शैन्य तालिम लिएर युद्ध लड्न तयार भए । त्यही युद्ध लडेकै कारण उनी अहिले बेसाहारा भएका छन् ।

२०६२ साल चैत्र २५ गते कपिलवस्तुको तौलिहवामा भएको दोहोरो भिडन्तमा गोली खाएका उनको देव्रे हात र खुट्टामा प्यारालाइशिस भएको छ । सामान्य हिँड्न मिलेपनि हात भने चलाउन मिल्दैन ।

वीरेन्द्रनगर १० बामेखोला सुर्खेतमा बस्दै आएका उनको साहारा श्रीमती नै हुन् तर श्रीमतीको समेत आयस्रोत नहुँदा उनीहरु अहिले संकटमा छन् ।

‘हिजो युद्धको कमाण्डर गर्नेहरु कयौंपटक मन्त्री बने’ उनले भने“ तर एकपटक सम्झने फुर्सद नेताहरुलाई छैन । त्यही युद्धले हामी भोकै नाङ्गै हिड्नुपर्ने अवस्थामा पुग्यौं । त्यहि युद्धले कसैले महल ठडाए ।”

त्यहि युद्धले कसैलाई सदनमा त कसैलाई सडकमा पुर्‍याएको उनी सुनाउँछन् ।

शान्ति सम्झौता भएको १५ वर्ष पुगिसक्दा समेत न्याय नपाउँदा अब आफ्नै नेतृत्वका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

हिजो वर्ग व्यवस्था विरुद्धमा लडेको लडाई आज आफ्नै नेता विरुद्ध लड्नुपर्ने अवस्था आएको भन्दै उनी यसको लागि सबै द्धन्द्धपिडितहरु एकजुट भएर लाग्नुपर्ने बताउँछन् ।

कपिलवस्तुको तौलिहवामा भएको भिडन्तको नेतृत्व जनार्दन शर्माले गरेको र उनलाई शान्ति सम्झौतापछि आजसम्मपनि भेट्नै नपाएको सिग्देलको गुनासो छ ।

जनयुद्धमा कमाण्डरकै भुमीकामा रहेका कर्णाली प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा भने ४० हजार रुपैयाँ भएपनि आँफुहरुले पाएको उनले सुनाए ।

घाइते अपा¨लाई जिवननिर्वाह भत्ता भन्दै दिइने ६ हजार भत्ता दुईवर्ष भयो उनले पाएका छैनन् । जिवन गुजारा गर्ने साहारा नहुँदा कयौं रात भोकै सुत्नुपर्ने अवस्था भएको उनी दुखेसो पोख्छन् ।

‘हिजो जनयुद्धमा नजा बेसाहारा भइन्छ भन्नेहरुलाई ओठे जवाफ लगाएर व्यवस्था परिवर्तन गर्छु भन्दै हिँडियो’ उनले मलिन अनुहार लगाउँदै थपे “आज मसंग केही जवाफ छैन । तिनै आफन्तसंग कहिलेकाँही सहयोग माग्दा आज उसैगरी जवाफ पाइन्छ ।”

आँफुजस्ता युद्ध लडेकाहरुको मनोभावना आफ्नो नेतृत्वले नबुझेको उनी गुनासो गर्छन् । आज आएको परिवर्तनमा हिजो भुमीका खेल्नेहरुको मुल्याँकन नभएको उनले बताए । टाँठा–बाठाहरुले केही अवसर पाएपनि आँफुहरुजस्ता हजारौं बेसाहारा भएको उनले सुनाए ।

उनलाई महिनामा एकहजार भन्दा बढीको औषधी खानुपर्छ । जिवनभर औषधी खानुपर्ने अवस्थामा जिवन गुजारा गरेका सिग्देल आफ्नो ठाउँमा अरु कोही भएको भए आत्माहत्या गर्नेथिए भन्दै आँफु अझै नेतृत्वको विरुद्धमा आन्दोलन गर्न तयार भएको बताउँछन् ।

उनी मात्रै होइन वीरेन्द्रनगर नगरपालिका २  सुर्खेतका कालुराम चौधरीको अवस्था पनि उस्तै छ । अरुकै साहारामा बाँचेका कालुरामलाई आर्थिक समस्या भने खासै छैन । कारण उनी शसस्त्र प्रहरी हुन् । तर द्धन्द्धले उनलाई पनि बेसाहारा बनायो ।

२०५९ सालमा शसस्त्र प्रहरीमा भर्ती भएका उनी २०६० सालमा काभ्रेपलाञ्चौकको कालिञ्चौकगणबाट गस्ती गएका समयमा एम्बुसमा परे ।
घटना स्थलमै उनले खुट्टा गुमाउनुपर्‍र्यो । उनको एउटा हातमा समेत गहिरो चोट छ । ‘म राज्यपक्षको भएका कारण आर्थिक समस्या त छैन’ उनले भने “तर द्धन्द्धले दिएको पिडा बाँचुञ्जेल सम्मको लागि रह्यो ।”

बुढा बुवा र आमाको साहारा बन्नुपर्ने समयमा आँफै बुवा–आमाको साहारामा बाँच्नुपर्ने जिवन द्धन्द्धकै कारण सृजना भएको उनी बताउँछन् ।

कालुराम र चेतनमा फरक यति हो की एकजना राज्य पक्षबाट लडे त एकजना विद्रोहीपक्षबाट लडे । तर पिडा दुवैको उस्तै–उस्तै हो ।
दुवै घाइते अपाङ्ताको जिवन बिताइरहेका छन् । कालुरामलाई राज्यको संरक्षण छ तर चेतनलाई छैन ।

चेतनजस्तै कर्णाली प्रदेशमा यस्ता थुप्रै व्यक्तिहरु यस्ता छन् जसले युद्धमा लगाएको गुन नेतृत्वमा बस्नेहरुले तिर्न सकेका छैनन् । पटक–पटक द्धन्द्ध पीडित र घाइते अपाङता भएकाहरुको विषयमा आयोजना हुने कार्यक्रमहरुमा दुखेसो पोख्ने बाहेकको अन्य उपलब्धि नभएको पीडितहरुको भनाई छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक कर्णाली प्रदेशका अनुसार प्रदेशभर ३ हजार २ सय ४७ अपाङ्ता, वेपत्ता र हत्या गरिएका छन् । यी राज्य र विद्रोही पक्ष दुवैतर्फबाट पीडित भएकाहरुको तथ्याँक हो ।

जसमा अपाङ्ता भएका ४ सय ३२, वेपत्ता पारिएका १ सय ९ र हत्या गरिएको २ हजार ७ सय ६ रहेको इन्सेकको तथ्याँक रहेको छ ।