विधिवतरुपमा छठपर्व सुरु

सुर्खेत । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।

कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिनेको चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ।

आज शुक्रवार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् ।

यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर बेलुकीपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।