कर्णालीबाट सदनमा प्रतिनिधित्व गर्ने महिलाको संख्या शुन्य : प्रत्यक्षमा संधै पुरुषहरुकै रजगज

सुर्खेत । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कर्णाली प्रदेशबाट प्रत्यक्षमा ३६ जना निर्वाचित भएका छन् । प्रदेश सभामा २४ र प्रतिनिधि सभामा १२ गरि ३६ जना निर्वाचित हुँदा एकजना पनि महिला निर्वाचित हुन् सकेनन् ।

उसो त महिलाहरुलाई ठुला भनिएका राजनितिक दलहरुले उम्मेदवार पनि पत्याउँदैनन् । प्रदेश सभाका २४ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षमा कुनैपनि महिलाहरुले टिकट प्राप्त गर्न सकेनन् तर प्रतिनिधि सभा तर्फको निर्वाचनमा भने दैलेखबाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती कुमारी शाही र र जुम्लाबाट नेकपा माओबादी केन्द्रकी गोमा गौतम कुँवरले प्रत्यक्षतर्फ टिकट प्राप्त गरेका थिए  ।

ठुला भनिएका दलहरुबाट टिकट पाउनेमा गोमा कर्णाली प्रदेशमै एक्ली उम्मेदवार हुन् । यो बाहेक कुनैपनि दलले महिलालाई प्रत्यक्षमा पत्याउन सकेनन् । तर निर्वाचनमा होमिएका महिलाहरुले पनि कर्णालीबाट जित्न सकेनन् ।

कर्णाली प्रदेशका दशवटा जिल्लाहरुमध्ये सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । जहाँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका पुर्णबहादुर खड्काले प्रतिनिधि सभा, प्रदेश सभा (क) मा काँग्रेसकै खड्क बहादुर पोखरेल र प्रदेश सभा (ख) मा नेकपा माओबादीका कृष्णबहादुर जिसी निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका हृदयराम थानी, प्रदेश सभा (क) मा नेकपा एमालेका यमलाल कँडेल र प्रदेश सभा (ख) मा नेकपा माओबादीका बिन्दमान विष्ट निर्वाचित भएका छन् । सुर्खेत जिल्लामा समेत कुनैपनि दलले महिलाहरुलाई प्रत्यक्षमा टिकट दिएका थिएनन् । सुर्खेत जिल्लामा पुरुषहरुकै प्रतिस्प्रर्धाबाट ६ जना पुरुषहरु निर्वाचित भएका छन् ।

यस्तै दैलेख जिल्लामा समेत दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा प्रतिनिधि सभा तर्फ समाजबादीका अम्मरबहादुर थापा र नेपाली काँग्रेसका दिक्पाल शाही, प्रदेश सभातर्फ नेपाली काँग्रेसका पुर्णबहादुर खत्री, कृष्णबहादुर बिसी, धनश्याम भण्डारी र नेकपा एमालेको बिनोदकुमार शाह निर्वाचित भएका हुन् । दैलेख जिल्लामा भने राप्रपाले कुन्ती कुमारी शाहीलाई प्रतिनिधि सभा तर्फको उम्मेदवार बनाएको थियो ।

यस्तै रुकुमपश्चिम जिल्लामा प्रतिनिधिसभा तर्फ नेकपा माओबादीका जनार्दन शर्मा, प्रदेश सभातर्फ माओबादीकै महेन्द्र केसी र राजकुमार शर्मा , सल्यानमा प्रतिनिधि सभातर्फ समाजबादीका प्रकाश ज्वाला, प्रदेश सभातर्फ नेकपा माओबादीका भिमप्रसाद शर्मा र नेपाली काँग्रेसका सुरेश अधिकारी निर्वाचित भएका हुन् ।

यस्तै जुम्ला जिल्लामा प्रतिनिधि सभातर्फ राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाही र नेकपा एमालेका टेकराज पछाई निर्वाचित भएका हुन् ।

हुम्ला जिल्लामा प्रतिनिधि सभातर्फ नेकपा माओबादीका छिरिङ दम्दुल लामा, प्रदेश सभातर्फ नेपाली काँग्रेसका जीवनबहादुर शाही र नेकपा माओबादीका रणसिंह परियार निर्वाचित भएका हुन् ।

जाजरकोटमा प्रतिनिधि सभातर्फ नेकपा माओबादीका शक्तिबहादुर बस्नेत , प्रदेशसभामा नेपाली काँग्रेसका राजिवविक्रम शाह र बेदराज सिंह, कालिकोटमा प्रतिनिधि सभातर्फ नेकपा माओबादीका महेन्द्रबहादुर शाही, प्रदेश सभातर्फ नेकपा माओबादीका दुर्गबहादुर रावत र नेपाली काँग्रेसका हिक्मत बहादुर विष्ट, मुगुमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका ऐनबहादुर शाही, प्रदेश सभातर्फ नेकपा एमालेका जितबहादुर मल्ल र नेकपा माओबादीका मंगल शाही र डोल्पा जिल्लामा प्रतिनिधि सभातर्फ समाजबादीका धनबहादुर बुढा, प्रदेश सभातर्फ नेकपा एमालेका शेरबहादुर बुढा र नेकपा माओबादीका बिरबहादुर शाही निर्वाचित भएका हुन् ।

नेपालको संविधानले नै हरेक तहमा महिलालाई ३३ प्रतिशत सहभागिताका सुनिश्चितताका लागि व्यवस्था गरेको छ । तर नेपालका ठुला भनिएका राजनितिक दलहरुले संविधान विपरित गएर असमावेशी नेतृत्व चयन गर्ने गरेका हुन् । उसो त दलहरुले महिला तथा सिमान्तकृत समुदायलाई समानुपातिक निर्वाचत प्रणालीमा सहभागी गराउने गरेका छन् । तर अँझै पनि यो समुदायलाई प्रत्यक्ष निर्वाचनमा भिडाउन हात कमाउने गरेका हुन् ।

झन् कर्णाली प्रदेशमा त पुरुषबाद हाबी छ । लैंगिक विभेद लगाएतका थुप्रै कुप्रथाहरुले जरा गाडेको कर्णालीले  महिलाहरुलाई नेतृत्वमा ल्याउने कुरामा कहिले पहल गर्ला ?