‘नोटका लागि भोट गुमाएका छौं’

सुर्खेत । कोरोना भाइरसको जोखिमका बिच पनि प्रदेश निर्वाचन कार्यालय सुर्खेतको गेट अगाडि लामो लाइन थियो । एकातिर महिला र अर्कोतिर पुरुषको लाइनमा करिब ४० जना बढि सबै उमेर समुहका नागरिक देखिन्थे ।

एकअर्कालाई धकला– धकल गर्दै साँघुरो ठाउँ ओगटेर लाइन बसेकाहरु दिउसोको तिन बजिसक्दा समेत मेरो पालो कहिले आउँछ ? भन्दै प्रश्न गरिरहेका थिए । त्यहि लाइनमा भेटिए गुर्भाकोट नगरपालिका ५ सुर्खेतका ३१ वर्षीय भुषण पुन ।

एकमहिना अगाडि कतारबाट घर फर्किएका भुषण प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदाता नामावली दर्ता गराउन आएका रैछन् । तिन वर्ष कतार, तिनवर्ष साउदि र नौवर्ष भारतमा बिताएका पुन आगामी निर्वाचनमा मतदान गर्न पाउने आशमा थिए ।

उनले प्रदेशमा बिताएका पन्ध्रौंवर्षसम्म थुप्रै निर्वाचन भए, थुप्रै जनप्रतिनिधी निर्वाचित भए तर पनि उनले मताधिकार प्रयोग गर्न भने पाएनन् । ‘के गर्नु गरिबीले देश छोड्न बाध्य बनायो’ उनले भने “ हामी प्रदेशीहरुले नोटका लागि भोट गुमाएका छौं ।”

नेपालको संविधानमा अठार वर्ष पुरा भएको प्रत्येक नागरिकले संघिय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ भन्ने उल्लेख छ ।

तर पुनले संविधानले दिएको अधिकार पुरा गर्न भने पाएका छैनन् । आँफुले मताधिकार प्रयोग गर्न नपाउनुको कारण देशमा सृजित गरिबी नै भएको उनको भनाई छ ।

रोजगारीको सिलसिलामा भारत लगाएत तेस्रो मुलकमा बस्दै आएका पुनले ३१ वर्षको उमेरसम्म पनि मतदानको अनुभव बटुल्न पाएका छैनन् ।

‘परिवार पाल्न सानै उमेरदेखी विदेशिएको हुँ ’ उनले थपे “निर्वाचनका समयमा सरकारले सबै प्रदेशीहरुलाई घर फर्काउने निति ल्याउनुपर्छ ।”

आँफुले मताधिकार प्रयोग गर्न नपाउनुमा उनी राज्य नै दोषी देख्छन् । संविधानमा उल्लेख गरिएको अधिकारलाई राज्यले रोजगारीका नाममा प्रयोग गर्न नदिएको उनी दुखेसो पोख्छन् ।

‘म जस्ता कयौं नेपालीहरुले आफ्नो नेता आँफै चुन्न पाएका छैनन् ’ उनले सुनाए “यो पटक भोट हाल्न पाइने आशामा छु ।” भोट हाल्नकै लागि देशमै बसेर पनि परिवारको पेट पाल्न समस्या हुने उनले बताए ।

भेरीगंगा नगरपालिका वडा नं ८ मेहेलकुनाका ४२ वर्षीय कबिराज बि.कको पनि उस्तै नमिठो कथा छ । रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका बि.कले समेत मताधिकार प्रयोग गर्न पाएका छ्रैनन् ।

‘यसपटक कोरोना भाइरसको संक्रमणका कारण भारत गएका छैनौं’ उनले भने “ त्यसैले गाउँका नेताहरुले नै नामावली दर्ता गर भनेर पठाएका हुन् ।” १६ वर्षदेखी भारतमा बस्दै आएका उनलाई आँफुले रोजेका जनप्रतिनिधी निर्वाचित भएपनि स्वदेशमै रोजगारी पाउने ग्यारेण्टि नभएको देख्दा दिक्क लाग्छ ।

भेरीगंगा नगरपालिका ११ भिमपुर सुर्खेतकी ५१ वर्षीय लाली सुनारले समेत भोटहाल्न नपाएको कयौं वर्ष भयो । उनको परिवार रोजगारीको सिलसिलामा भारतमै बस्ने भएको कारण निर्वाचनमा भाग लिन लालीले नपाएकी हुन् । यसपटक घर आएको समयमा नामावली दर्ता गर्न प्रदेश निर्वाचन कार्यालय सुर्खेत आएको उनले बताईन् ।

गुर्भाकोट नगरपालिका ५ की सेती रोकायका श्रीमान् समेत रोजगारीकै सिलसिलामा भारतमै बस्छन् । यता सेतीले भने नागकिरता नभएकै कारण ४१ वर्षको उमेरसम्म पनि भोट हाल्न पाएकी छैनन् । गतवर्षको लकडाउनले सेतीलाई ठुलै फाइदा भयो । श्रीमान् घरमा भएको कारण नागरिकता बनाइदिएपछि उनी मतदाता नामावली दर्ता गर्न आएको सुनाईन् ।

‘निर्वाचनका समयमा सबै भोट हाल्न जाँदा दुख लाग्थ्यो’ उनले सुनाईन् “ आफ्नो नागरिकता नभएपछि के गर्ने ? भोट नहालेको भनेपछि नेताहरुले समेत विभेद गर्ने गरेको उनले सुनाईन् ।

रोजगारीको सिलसिलामा दैनिक हजारौं नेपालीहरु बिदेशीनुपर्ने बाध्यता छ । कर्णाली प्रदेशमा समेत यो समस्या ठुलै छ । गरिबीको कारण कर्णालीका अधिकाँश परिवार भारतमा बस्ने र केहि युवाहरु तेस्रो मुलकमा बस्दै आएका छन् ।

जसले गर्दा उनीहरुको सहभागीता निर्वाचनमा हुनपाउँदैन । नत सो समयमा आउन नै सम्भवन हुन्छ । जसले गर्दा मताधिकारबाट अधिकाँश नागरिकहरु बञ्चित भएका हुन् ।

सुर्खेत जिल्लामा नामावली दर्ताका लागि दुईचरणको अभियानै सञ्चालन गरेको सुचना अधिकारी निर्मला रेग्मीले जानकारी दिईन् । उनका अनुसार मंसिर १७ देखी पुस २ गते तथा पुस ४ देखी पुस १८ गतेसम्म दुईचरण सञ्चालन गरिएको अभियानमा १२ हजार ४३ जनाले नामावली दर्ता भएका हुन् ।
नयाँ निर्वाचनको मिति तोकिएपछि मात्रै थप तथ्याँक आयोगले सार्वजनिक गर्ने उनले बताईन् ।

नियमित नामावली दर्ता गराउनेहरु भने ७ हजार ९ सय ५७ जना रहेको रेग्मीले बताईन् । मतदाता नामावली दर्ताको काम नियमित भइरहेकोले अझै यो संख्या बढ्न सक्ने उनले जानकारी दिईन् । २०७७ साल पुस महिनाको ५ गतेसम्म सुर्खेत जिल्लाका जम्मा मतदाता भने २ लाख १८ हजार ४३ रहेको छ ।