वैदेशिक रोजगारीको नाममा हुने ठगी न्युनिकरणका लागि सिडिओ र कर्मचारीसँग अन्तर्रक्रिया


सुर्खेत । वैदेशिक रोजगारीका नाममा हुने ठगी न्युनीकरणका लागि जिल्ला प्रशासनका पदाधिकारी र मुद्धा शाखाका कर्मचारीहरुसँग एकदिने अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन सुर्खेतमा कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका दशवटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, मुद्धा शाखाका प्रमुखहरुसहितको सहभागीता रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी विभिन्न कानुनी व्यवस्थाहरुको बारेमा छलफल गरिएको थियो । वैदेशिक रोजगार सम्बन्धी ऐन २०६४, वैदेशिक रोजगार सम्बन्धी नियमावली, २०६५ तथा नेपालको संविधानको धारा ३३ र ३४, ४३ तथा धारा ५१ (झ) मा भएको व्यवस्थाका बारेमा समेत छलफल गरिएको थियो ।

बैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाहरुलाई जती सक्दो छिटो र पीडितले न्याय पाउने गरी काम गर्न सहज होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्र बहादुर शिवाकोटीले बताए ।

उनले वैदेशिक रोजगार ऐन २०६४ संशोधन भई ठगीका मुद्धाहरु प्रमुख जिल्ला अधिकारीले समेत हेर्न मिल्ने भन्दै मेलमिलाप हुन सक्ने मुद्धाहरु जिल्लाबाटै टुङ्गिएर गएमा विभागमा मुद्धाको चाप कम हुने र पीडितले छिटो न्याय पाउन सक्ने बताए ।

उपमहानिर्देशक शिवाकोटीले वैदेशिक रोजगार सम्बन्धी कानूनहरु पीडितमैत्री नभएको खण्डमा त्यसलाई संशोधन समेत गर्नका लागि पनि सुझाव आवश्यक भएको बताए ।  अधिकाँश नागरिकहरु बाध्यताले वैदेशिक रोजगारीमा जाने गरेपनि  केही भौतिक सुख र सुविधाका लागि तल्लो बाटो हुँदै असुरक्षित तरिकाले युरोप, अमेरिका छिर्ने गरेको समेत उनले बताए । उनले नागरिकहरुलाई बढी भन्दा बढी सुरक्षित रोजगारीसम्बन्धी जानकारी दिनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी कानूनी सेवा प्रवाहका लागि ऐन तथा नियमावलीमा भएका कानूनी प्रावधान एंव सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्य सम्बन्धी व्यवस्थाहरु विषयमा विभागका निर्देशक गूरुदत्त सुवेदीले प्रस्तुतीकरण गरेका थिए ।

यस्तै वैदेशिक रोजगार सम्बन्धी ठगी लगायतका उजूरीहरुमा कानूनी सेवा तथा सम्बन्धित निकायको भूमिका विषयमा विभागका निर्देशक भीमसेन काफ्लेले प्रस्तुतीकरण गरेका थिए भने कर्णाली प्रदेशभित्र सामी कार्यक्रम अन्तर्रगत आप्रवासी स्रोत केन्द्रहरुले वैदेशिक रोजगार सम्बन्धी मुद्धा सहजीकरण गर्दाको अनुभव तथा सिकाईको प्रस्तुतीकरण सामी कर्णालीका संयोजक कमल रोकायले गरेका थिए ।

कार्यक्रममा दशवटै जिल्लाबाट सहभागी भएका सहायक प्रमुख जिल्ला अधिकारी तथा मुद्धा शाखाका प्रमुखहरुले जिल्लामा वैदेशिक रोजगारी सम्बन्धि मुद्धाहरुको अवस्था विषयमा जानकारी गराएका थिए ।