तिनकुने घटनालाई लिएर प्रेस सम्बद्ध संगठनसँग महासंघ सुर्खेतको छलफल


सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले काठमाण्डौको तिनकुनेमा प्रेसमाथिको आक्रमणपछि सिर्जित घटनाक्रमका विषयमा सरोकारवालासँग छलफल गरेको छ । मंगलबार सुर्खेतस्थित प्रेससँग सम्बद्ध संघ÷संगठनहरूसँग महासंघले भावि कार्यदिशाका बारेमा छलफल गरेको हो ।

छलफलमा नेपाल पत्रकार महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष ललित बसेलले तिनकुने घटनामा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणलाई सामान्यरुपमा लिन नहुने बताए ।

विगतदेखि नै प्रेस स्वतन्त्रतामा विभिन्न पक्षबाट आक्रमण हुँदै आएको उल्लेख गर्दै यसमा महासंघले डटेर सामना गर्नुपर्ने उनले बताए ।

प्रेस सेन्टर नेपाल सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले विज्ञप्ति निकालेर मात्रै पत्रकारको सुरक्षा हुन नसक्ने बताए । सिङ्गो सञ्चार क्षेत्रमा चौतर्फि भइरहेको हमलाविरुद्ध पेशागत संगठनहरुले प्रतिवाद गर्नुपर्ने उनले बताए । कतिपय अवस्थामा आचार संहिता पालना नगर्दा पत्रकारमाथि आक्रमण हुने गरेको उल्लेख गर्दै उनले पत्रकार पनि मर्यादा रहनु पर्ने बताए । जोखिमको संवदेनशिलतामा ध्यान पु¥याउन सके असंगठित समूहको हमालाबाट बच्न सकिने उनको धारणा थियो ।

यस्तै, प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमालले तिनकुने घटनामा संलग्न दोषिलाई हदैसम्मको कारवाही र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिइन । आन्दोलनका नाममा हत्या जस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने उनले बताइन ।

आचारसंहिता पालनासँगै कार्यस्थलमा पत्रकार सुरक्षाको ग्यारेण्टी हुनुपर्ने उनले बताइ । साथै, उनले पत्रकारको पेशागत सुरक्षा र क्षमता अभिवृद्धिमा महासंघले खुट्टा कमाउन नहुने बताइन ।

नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीले तिनकुने घटनाका विरुद्ध सांकेतिकरुपमा सार्वजनिक कार्यक्रम बहिष्कार गर्नुपर्ने बताए ।

समाजवादी प्रेस संगठन सुर्खेतका अध्यक्ष देव रानाले मृतकले न्याय नपाउँदासम्म सरकारलाई रचनात्मक दवाव दिने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । खासगरी भिडभाडमा रिपोटिङ गर्दा उच्च जोखिम हुने उल्लेख गर्दै उनले पत्रकार बीमा कार्यक्रम ल्याउँदा परिवार सुरक्षामा केही हदसम्म सहयोग पुग्ने बताए ।

यस्तै, सञ्चारिका समूह कर्णाली प्रदेशका सचिव रजनी योगीले प्रेसमाथि भएको अकल्पनीय घटनाको डटेर सामना गर्नुपर्ने बताइन । उनले समाचारकै कारण ज्यान गुमाएका दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई न्याय दिलाउन लड्नु परेको लामो लडाईँ तिनकुने घटनामा दोहोरिन नहुने बताइन ।

अनलाइन मिडिया नेटवर्क सुर्खेतका अध्यक्ष नवीन शाहीले सामाजिक सञ्जालले पत्रकार असुरक्षित बन्दै गएकाप्रति सचेत रहनुपर्ने बताए । कतिपय अवस्थामा पत्रकार आफै संवेदनशिल नहुँदा अप्रिय घटना घट्ने गरेको उल्लेख गर्दै शाहीले रिपोटिङ गर्दा हुलमुलबाट जोगिनुपर्ने बताए ।

नेपाल आदिवासी पत्रकार महासंघका अध्यक्ष प्रवाशकुमार शाक्यले तिनकुने घटनाबाट पाठ सिक्दै सुरक्षित रिपोटिङ गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशील खड्काले रिपोटिङ गर्दा पत्रकार संवेदनशील आवश्यक रहेको बताए । कार्यस्थलमा पत्रकारले सुरक्षा पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको धारणा थियो । समाजलाई सुसूचित गर्ने र विचार निर्माण गर्ने स्वतन्त्र प्रेसमाथि हमला हुनु दुखदायी भएको उनको भनाई थियो ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले प्रेसमाथि द्वन्द्वका समयमा भन्दापनि अहिले असुरक्षा बढेको बताए । पत्रकारले ज्यान जोगाएर मात्रै रिपोटिङ गर्नुपर्नेमा जोड दिदै उनले पत्रकारमाथि हुने सबैखाले घटनाविरुद्ध न्याय प्राप्तिको लडाइँमा महासंघपछि नहट्ने बताए ।

राजतन्त्र फर्काउने आन्दोलनका नाममा भएको अराजक प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई न्याय दिलाउन कुनै कसर बाँकि नराखिने महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले बताए । रजकलाई न्याय र उनको परिवारलाई उचित क्षतिपूर्तिसहित स्वतन्त्र प्रेसमाथि भइरहेको हमाला अन्त्य नभएसम्म महासंघले संघर्ष जारी राख्ने शर्माको दावी छ । उनका अनुसार महासंघ केन्द्रको सर्कुलर अनुसार एक सातासम्म दवावमुलक कार्यक्रम आयोगना गरिने छ । महासंघले दिएको समयसम्म माग पुरा नभए सरकारविरुद्धको संघर्ष सुरु हुने उनले बताए ।