प्रदेश रंगशाला निर्माणका लागि सम्झौता, ढाई वर्षमा सम्पन्न हुने

सुर्खेत । प्रदेश गौरवको रुपमा रहेको  प्रदेश रंगशाला निर्माणका लागि प्रदेश सरकार र निर्माण व्यवसायीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनि एमएसी–जिएसएल कम्पनिबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा रंगशाला निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको हो । प्रदेश राजधानी वीरेन्द्रनगर – ८ मा निर्माण गरिने रंगशाला कम्पनिले २०८१ जेठ ११ गते भित्र सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिए । उनका अनुसार १० हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण गर्न लागिएको हो ।रंगशालाभित्र भिआइपी वेटिङ रुम, भिआइपी प्यारोफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ स्थानलगायतका संरचनाहरु निर्माण गरिनेछ । भलिबल, बास्केटलागतयका खेलहरु खेल्न मिल्ने रंगशालाभित्र एक हजार पाँच सय दर्शक हट्ने संरचना निर्माण गरिनेछ ।

उक्त रंगशालालाई प्रदेश गौरवको आयोजनाको रूपमा प्रदेश सरकारले यस अघि घोषणा गरेको थियो । कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगितालाई लक्षित गरेर रंगशाला निर्माणको कामलाई तीव्रता दिइने उनले जानकारी दिए ।

सम्झौता कार्यक्रममा मुख्यमन्त्री शाहीले तोकिएकै समयमा रंगशालाको निर्माण सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देशन दिएका छन् । उनले रंगशाला निर्माणमा बजेटको चिन्ता नगर्न र आवश्यक बजेट सरकारले उपलब्ध गराउँने बताए ।