पैतृक सम्पत्ति पाउनै मुस्किल छ एकल महिलालाई

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतकी एक महिलाले श्रीमान् गुमाएको ११ वर्षसम्म पनि श्रीमान्को हक लाग्ने सम्पत्ति प्राप्त गर्न सकिनन् । ससुराका नाममा भएको सम्पत्तिबाट भागबण्डा गरेर आफ्नो श्रीमान्को हक लाग्ने सम्पत्ति आफ्ना नाममा झारिदिन बारम्बार आग्रह गर्दा समेत उनले सम्पत्ति प्राप्त गर्न सकिनन् । बरु श्रीमान् टोकुवाको लाञ्छना र अपहेलना पाइन् । दुई छोरीकी आमा उनलाई छोरी मात्रै जन्माएको कारण पनि सम्पत्ति नदिएको परिवारले जवाफ दिन थाले । अन्तत उनी सम्पत्तिका लागि अदालत धाउनुपर्र्यो ।

अदालत गएर समेत उनले आँफुले पाउनुपर्ने सबै सम्पत्ति नपाएको गुनासो गरिन् । सासु ससुराको नाममा भएको जिउनी आजभोली उनका देवरले मात्रै उपभोग गरिरहेका छन् । उक्त सम्पत्तिका लागि दोस्रो पटक पनि अदालत जानुपर्ने बाध्यता आएपछि उनी सम्पत्तिको आश मारेर बसेकी छन् ।

दैलेखकी एक महिलाले श्रीमान् गुमाएको १७ वर्ष भयो तर आजसम्म पनि उनले श्रीमानको हक लाग्ने सम्पत्ति प्राप्त गर्न सकेकी छैनन् । एक छोरीकी आमा उनले सम्पत्ति हुँदा पनि सम्पत्तिमाथीको अधिकार नहुँदा दैनिक ज्यालादारी काम गरेर गुजारा चलाएकी छन् । तर सम्पत्तिका लागि कुनै उजुरी समेत गर्न नसकेको उनी सुनाउँछिन् ।

श्रीमानको मृत्यु भएदेखी हक लाग्ने सम्पत्ति आफ्ना नाममा झारिदिनका लागि उनले घरपरिवारलाई नभनेकी होइनन् तर बारम्बार भन्दा समेत सुनुवाई नभएपछि उनले पैतृक सम्पत्ति नै आश मारेर बसेकी छन् ।

राज्यले श्रीमान्को मृत्यु भएपछि श्रीमानको हक लाग्ने सम्पत्ति मृत्युदर्ता संगै हक लाग्ने हकदारको नाममा अनिबार्य झारिदिने प्रावधान ल्याउनुपर्ने तर्क उनको छ ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । कर्णाली प्रदेशका अधिकाँश एकल महिलाहरु पैतृक सम्पत्तिको अधिकारबाट बञ्चित रहेका छन् । श्रीमानको मृत्यु अगावै परिवारबाट लाग्ने अंश श्रीमान्को नाममा भइसकेको अवस्था बाहेक सासुससुराको नाममा भएको सम्पत्ति श्रीमानको मृत्युपश्चात् एकल महिलालाई दिन परिवारले मान्दैन । अँझै छोरीहरु मात्रै भएको हकमा आफ्नो सम्पत्ति अर्केैको छोराले खाने वा बुहारीले अर्को विवाह गरेर जाने तथा अपहेलना गरेर सम्पत्ति नदिने गरेको अधिकारकर्मीहरु बताउँछन् ।

यस विषयमा अधिकारकर्मी तथा मावनअधिकारका लागि महिला एकल महिला समुह सुर्खेतकी अध्यक्ष ममता नगालले आँफुले समेत सम्पत्ति प्राप्त गर्न नसकेको भन्दै कर्णालीमा यस्ता धेरै एकल महिलाहरु रहेको उनले बताईन् ।

कानुनमा प्रष्ट व्यवस्था नभएको, एकल महिलाहरुका लागि बोलिदिने कोही नभएको र पुरातनबादी सोच जसले महिलालाई सम्पत्तिको अधिकार दिनुहुन्न भन्ने सोचका कारण यसो भएको उनले सुनाईन् ।

जसरी जन्म, मृत्यु जस्ता घटनाहरु ३५ दिनभित्र दर्ता गर्नुपर्ने प्रावधान छ त्यसैगरी श्रीमानको मृत्युपश्चात् उसको नजिकको हकदारलाई ३५ दिन भित्रै अनिवार्य रुपमा सम्पत्ति दिनुपर्ने प्रावधान राज्यले ल्याउनुपर्ने उनले बताईन् ।