चीनसँग तनाव बढेपछि ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि


सुर्खेत । ताइवानले अनिवार्य सैन्य सेवा अवधि लम्ब्याएको छ । राष्ट्रपति साई इङ–वेनले सैन्य सेवालाई चार महिनादेखि एक वर्षसम्म बढाउने बताएका छन् ।

चीनको स्वशासित टापुमा लगातार बेइजिङसँग तनाव बढेपछि ताइपेईले अनिवार्य सैन्य सेवा अवधि बढाएको हो । आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति साईले बेइजिङबाट आक्रमण भएमा ताइवानको रक्षालाई सुदृढ तुल्याउन नयाँ योजनाको घोषणा गरेका हुन् । राष्ट्रपति साईले सेनामा भर्ती हुनेलाई गहन प्रशिक्षण दिइने, अमेरिका र अन्य देशका उन्नत सेनाबाट सहयोग लिने योजना पनि उनले सुनाए ।

ताइवानी सेना सन् १९९० को सुरुदेखि नै सङ्कुचित भएको छ । अठार वर्षभन्दा माथिका सबै पुरुषले तीन वर्षसम्म सेनामा सेवा गर्नुपर्ने प्रावधान थियो तर पछिल्ला केही दशकमा सैन्य सेवालाई एक वर्ष १० महिनामा घटाएर चार महिनामा झारिएको थियो । अनिवार्य सैनिक सेवाको नयाँ नियम सन् २०२४ को जनवरीदेखि लागू हुनेछ । त्यसै वर्षको त्यही महिना ताइवानले अर्को राष्ट्रपति चयन गर्नेछ ।

ताइपेई र बेइजिङबीचको तनाव गएको अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणले बढाएको थियो । बेइजिङले ताइवान वरपरको समुद्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेर असन्तुष्टि जनाएको थियो । यद्यपि वाशिङ्टनले एक चीन नीतिप्रति असहमति नजनाए पनि अनौपचारिकरूपमा अन्य माध्यमबाट कुटनीतिक सम्पर्क स्थापना र सम्बन्ध विस्तार गरिरहेको छ ।

ताइपेईले चिनियाँ सैन्य अभ्यासलाई उत्तेजना भड्काउने गतिविधि भएको टिप्पणी गरेको थियो । चीनले गएको आइतवार र सोमवार लडाकु तथा फाइटर विमान र ड्रोनलगायत ताइवानको आकाशमा ७१ वटा विमान र जलक्षेत्रमा सात वटा जहाज तैनाथ गरेको थियो । ताइवानले पनि आफ्नो भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली र आफ्नै नौसेना जहाजबाट चिनियाँ चालको निरन्तर निगरानी गरिरहेको छ ।

गएको अक्टोबरमा बेइजिङमा भएको चिनियाँ कम्युनिस्ट पार्टी (सीसपी) को महाधिवेशनमा राष्ट्रपति सी चिनपिङले ताइवानको एकीकरणका निम्ति बल प्रयोग हुनसक्ने बताए । चीनले ताइवानलाई आफ्नो अविभाज्य भू–भाग मान्दै त्यसलाई मुख्यभूमिमा एकीकरण गर्नु सबै चिनियाँको साझा चाहना भएको बताउँदै आएको छ । सन् ७० को उत्तरार्द्धदेखि नै बेइजिङले ताइपेईलाई एक राष्ट्र दुई प्रणालीको अवधारणाअनुसार आफ्नो दाबी गरिरहेको छ ।