यूएईमा एक नेपालीले जिते तीन करोड ६० लाखको चिठ्ठा


सुर्खैत । युएईमा फेरि अर्का एक नेपालीले एक मिलियन यूएई दिर्हाम अर्थात् झण्डै तीन करोड ६० लाख रुपैयाँ चिठ्ठा जितेका छन् ।

यूएईमा कार्यरत मेघ नाम गरेका नेपाली नागरिकले गत शनिवार महजुज ड्रमा एक मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार तीन करोड ५७ लाख ९८ हजार १ सय ३३ रुपैयाँको चिठ्ठा जितेको यूएईको स्थानीय सञ्चार माध्यम गल्फ न्युजले उल्लेख गरेको छ । मेघको अन्तिम नाम अर्थात् थर र नेपालको ठेगाना भने समाचारमा उल्लेख गरिएको छैन ।

शनिवार भएको १३५ औँ महजुज ड्रमार्फत मिलियन दिर्हाम जित्नेमा मेघ चौथो नेपाली भएका छन् । यसअघि भरतले पहिलो पटक महजुजको ड्रमा एक करोड दिर्हाम, पदमले दुई करोड युएई दिर्हाम र सूर्यले दश लाख यूएई दिर्हाम चिठ्ठा जितेका थिए ।

मेघ यूएईको आबुधाबीमा ८ वर्षदेखि कार्यरत छन् । आबुधाबीको एक निजी कम्पनीमा अफिस ब्वाइका रूपमा कार्यरत रहेको खबरमा उल्लेख छ । मेघले महजुजको चिठ्ठा काटेको यो चौथो पटक थियो।