‘खुशी सिम्ताली समृद्ध सिम्ता’ बनाउने योजनामा छु

सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द

भर्खरै स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । सबै स्थानिय तहहरुले अबको पाँच वर्षकालागि नेतृत्व चयन गरिसकेका छन् । यो पाँच वर्षकालागि निर्वाचित भएका नेतृत्वहरुले पहिलो वर्षका लागि नीति कार्यक्रम तय गरिसकेका छन् । यसै विषयमा सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दसंग सिम्ता गाउँपालिकाको सम्बृद्धिका लागि के योजना बनाउनु भएको छ ? भनी फरकबाटो सहकर्मी ललिता बिश्वकर्मा ओडले उहाँसंग गरेको कुराकानी : 

आजभोली के काममा व्यस्त हुनुहुन्छ ?

आर्थिक वर्ष २०७९/०८० को बजेट नियामावली भर्खरै पास गरेका छौं । भदौदेखी विनियोजन गरेका बजेटहरुको योजना कार्यान्वयन गर्ने तर्फ लाग्नेछौं ।

हाम्रा लागि स्थानिय तह पहिलो वर्ष भएपनि गत वर्षको नेतृत्वले आवश्यक आधार तयार गरिसकेको छ । त्यसैले यो वर्ष कार्यान्वयनको वर्ष बन्नेछ । केही आधारहरु तयार गर्नुपर्ने भएपनि अधिकाँश कानुनी आधारहरु तय भइसकेको छ । हामीहरु अब भदौ देखी नै बजेट कार्यान्वयन तर्फ लाग्ने तयारीमा जुटेका छौँ

आगामी वर्षका लागि बजेट निर्माण भइसकेको छ । के कुरालाई प्राथमिकता दिनुभएको छ ?

हामीले अगाडि सारेका आधारभुत योजनामा पुर्वाधार र सामाजिक क्षेत्र हो । जसमा पुर्वाधार तर्फ शिक्षा, स्वास्थ्य, कृषि,खानेपानीलाई मुख्य प्राथमिकतामा राखेका छौं । यस्तै सामाजिक क्षेत्रको लैंगिक हिंसा, जातिय विभेद, घरेलु हिंसा लगाएतका क्षेत्रलाई समेत प्राथमिकतामा राखेका छौं ।

शिक्षा क्षेत्र सुधारको कामलाई पहिलो प्राथमिकता दिएका छौँ । शिक्षामा धेरै सुधार गर्नुपर्ने पक्ष देखीएका छन् । शिक्षाको गुणस्तर सुधार, भौतिक संरचना निर्माण लगाएत यो क्षेत्रका जनशक्तिलाई समेत अब्बल बनाउने योजना हाम्रो छ । जसका कारण सामाजिक क्षेत्र पनि सुधार हुन्छ ।

शिक्षाबाहेक परम्परागत रुपमा गरिरहेको कृषिलाई व्यवसायीक रुपमा अगाडि लैजाने काममा प्रदेश सरकार र कृषि निर्देशनालय, पालिका र त्यहाँको सहकारीसँग समन्वय गरि सङ्कलन केन्द्रको समेत योजना बनाएका छौँ । छाडा पशुचौपायालाई व्यवस्थित गर्ने, स्वास्थ्यको क्षेत्रमा अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गर्ने योजना गरिरहेका छौँ ।

जसका लागि हामीहरुले कृषिमा ४० लाख, शिक्षामा दुई करोड, स्वास्थ्यमा ८७ लाख छुटयाएका छौँ । बजेटको सन्र्दभमा सबै वडा तहका शाखाबाट सबैतिर लगभग ४९ करोड बजेट बिनियोजन गरेका छौँ । यसलाई कार्यान्वयन तर्फ लागिरहेका छौँ ।

हामीले दुईहजार घर धुरीलाई एक घर एक धारा उपलब्ध गराई सकेका छौ । बाँकी रहेका ठाउँहरुमा पालिका, युनिसेफ लगाएतका संस्थाहरुको साझेदारीमा अबको दुई वर्षमा सबै ठाउँमा खानेपानी पु¥याउने योजना छ । बर्षाको समयमा २४ सै घण्टा यातायात चल्न कठिनाई हुने हुँदा यो कुरामा पनि जोड दिएका छौ ।

भखरै नेतृत्वमा आउनु भएको छ, गाउँका नागरिकसंग खुसी बाँड्न जानु भयो त ?

चुनाव जितिसकेपछि सामान्यतया खुसी बाँड्ने, भेटघाट हुने त भईरहेको छ । यो भन्दा पनि हामीले गाउँपालिकामा ल्याउने नीति तथा कार्यक्रमले नागरिकमा खुसी छाउनुपर्छ र हामीहरु त्यही बाटोमा लाग्यौँ ।

यो वर्षको लागि बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार असार १० गते अनिवार्य बजेट ल्याईसक्नुपर्ने भएकोले असार १० मा गाउँसभाको उद्घाटन गरेर असार २४ गते बजेट पास गरिसकेका छौँ ।

टोल स्तरबाट योजना छनौट, काममा एकरुपता ल्याउनका निमित्त सबै लेवलका कर्मचारी, संघसंस्था, नागरिक समाज र स्थानीय बासीसँग समन्वय गरि निरन्तर भेटघाट गर्ने काम चलिरहेको छ । ‘खुसी सिम्ताली समृद्ध सिम्ता’ बनाउने नाराका साथ अघि बडिरहेका छौँ ।

तपाईलाई नागरिकले बिश्वास गरेर जिताएका छन्, सिम्ताली नागरिकको समस्यालाई बुझनु भएको छ त ?

जनताका समस्यालाई सम्बोधन गर्नका निमित्त नै नेतृत्वमा आएको हँु । सिम्ता गाउँपालिकाको मुख्य समस्या भनेको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी पुर्वाधार विकास नै हो । यो बाहेक सामाजिक क्षेत्रतिर लैङ्गिक हिंसा, बालबिवाह, घरेलु हिंसा, जातीय विभेद, बेरोजगार मुख्य समस्या हुन् ।

त्यसैले पुर्वाधार मात्रै नभई सामाजिक क्षेत्र सुधारका लागि पनि मेरो प्रयास हुनेछ । सामाजिक क्षेत्र सुधारका लागि सिम्ता गाउँपालिकाले पहलकदमी चाल्नेछ । नागरिकका समस्या नबुझ्ने भन्ने नै हुँदैन । नागरिकको समस्या बुझेर तिनै समस्या समाधानको लागि म सिम्ता गाउँपालिकामा निर्वाचित भएर आएको हुँ । म लगाएत मेरो टिमले नागरिकका समस्या समाधानतर्फ ध्यान दिनेछौँ ।

नागरिकका समस्या समाधानका लागि के योजना बनाउनु भएको छ ?

हामीसँग भएको सो्रत र साधनलाई सहि ढंङ्गले सदुपयोग गर्यो भने समस्याको समाधान गर्नु कठिनाईको बिषय होइन । आवश्यकतालाई बिस्तारै परिपुर्ती गर्न सकिन्छ । यी समस्या समाधानका लागि हामीले योजना बनाएका छांै । त्यसलाई कार्यान्वयनका लागी हामी निरन्तर लागीरहेका छौ । शिक्षामा सुधार ल्याउनका लागी सम्बन्धित निकायसँग निरन्तर व्यक्तिगत, संस्थागत र सामुहिक रुपमा छलफल बहस गर्ने गरेका छौं ।

यस्तै स्वास्थ्यका लागि १५ सैयाको अस्पताल बनाउँदै छौँ । बालबिवाह अन्त्यका लागी गाउँ–गाउँमा क्याम्पियन बनाउने हरेक, नागरिकलाई शिक्षित बनाउने, सबैमा जनचेनाको विकास गनर्,े विपन्न परिवारका लागी सिपमुलक तालिमहरु दिने योजना रहेका छन् ।

यो बाहेक प्रदेश सुशासन केन्द्रको सहयोगमा गाउँपालिकाले लैगिंक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण सम्बन्धि ५ वर्षे रणनितिक योजना निर्माण गरिएको छ । सोही बमोजिम सामाजिक क्षेत्रमा काम गर्ने योजना छ ।

अबको ६ महिना भित्रमा सिम्तामा के–के काम गर्नुहुन्छ ?

मेरो छ महिनाको योजना भनेको शिक्षालाई जोडदिनु हो । शिक्षामा नितीगत काम गर्न चाहान्छु । किनभने हामीले बनाएका शिक्षा ऐन लगाएतका ऐनहरु समय सन्र्दभमा संसोधन गर्नुपर्ने परिस्थिती पनि छ ।

यो हिउँदे अबिधेशनमा शिक्षा ऐनलाई संसोधन गरेर त्यहाँको शिक्षा क्षेत्रसँग जोडिएका व्यक्तिहरुलाई समेटेर सिम्ताको शिक्षा निती बनाउने सक्यो भने त्यसमा टेकेर शैक्षिक क्षेत्रलाई अगाडि बढाउन सजिलो हुन्छ । यो बाहेक अन्य नियमित सेवाका काम त स्थानिय तहले गर्नेनै भयो ।

अबको पाँच बर्षको योजना के छ ?

संस्थागत नितीगत आधारमा सबै संरचना चल्ने गर्छन् । चाहे प्रशासनिक कुरा होस् चाहे जनप्रतिनिधि होस् उनीहरु नितीगत रुपमा चल्नुपर्ने हुन्छ । सोही अनुरुप रहेर पालिकामा आएको बजेटलाई सहि सदुपयोग गर्ने र जनताका समस्यालाई निरन्तर कार्यान्वयन गर्ने तर्फ लाग्ने छु ।

भ्रष्ट्राचार आफुपनि नगर्ने र अरुलाई पनि गर्न नदिने अठोट पनि लिएको छु । बजेट कार्यान्वयनमा निरन्तर लाग्ने छु । पाँचवर्षमा शिक्षाको गुणस्तर सुधार, सामाजिक क्षेत्रमा पुर्णतया सुधार गरेर जाने योजना छ ।