“ट्राफिक व्यवस्थापन सबैको जिम्मेवारी हो”

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । त्यसमा पनि प्रदेशस्तरका सबै कार्यालय तथा जिल्ला स्तरका कार्यालय समेत वीरेन्द्रनगरमै छन् ।  बढ्दो जनसंख्या तथा सवारी साधन, साँघुरो बाटो र कम जनशक्तिका कारण ट्राफिक व्यवस्थापनमा सकस देखिएको छ । यद्यपी पछिल्लो समय सुर्खेत जिल्लामा ट्राफिक व्यवस्थापनका विभिन्न नयाँ प्रयासहरु थालिएका छन् । जिल्लामा ट्राफिक व्यवस्थापनका लागि भएका प्रयास, चुनौतिलगायतका विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यसँग फरकबाटो डटकमले गरेको कुराकानी :

सुर्खेत जिल्लामा ट्राफिक व्यवस्थापन कसरी भइरहेको छ ?

ट्राफिक व्यवस्थापन अत्यन्तै जटिल र बहुआयामिक पक्ष हो । यसमा विभिन्न निकायहरु संलग्न हुन्छन् । ति निकायहरु मध्येको ट्राफिक प्रहरी एक हो । ट्राफिक प्रहरीले प्रत्यक्षरुपमा खटिई ट्राफिक व्यवस्थापन सम्बन्धी जारी भएका नीति , नियम तथा कानुनहरुको कार्यान्वयन गर्दछ ।

मुख्यत ट्राफिक प्रहरीले पाँच वटा काम गर्दछ । सवारी आवागमनमा सहज गर्ने, सवारी साधनहरुको चेकजाँच गर्ने, कानुनमा व्यवस्था भएअनुसार जरिवाना गर्ने, सवारी दुर्घटनामा उद्धार तथा दुर्घटना प्रतिवेदन तयार गर्ने र सवारी दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने काम गर्दछ । सोही अनुसार हामीहरुले पनि काम गरिरहेका छौँ ।

यसको अलवा विभिन्न निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी ट्राफिक व्यवस्थापनसँग सम्बन्धित अन्य कार्यहरु गर्ने गरेका छौँ । सुर्खेत जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि चौमासिक कार्ययोजना निर्माण गरि निरन्तर कार्यान्वयन गर्दै आएको छ ।

जसअन्तर्रगत १८ स्थानमा दैनिक सवारी चेकजाँचका साथै मादक पदार्थ सेवन चेकजाँच भइरहेको छ । त्यस्तै ध्वनी प्रदुषण न्युनिकरणको अभियान सञ्चालन, दुर्घटना ग्रस्तक्षेत्र पहिचान गरी सचेतनामुलक ट्राफिक संकेतहरु राख्ने काम भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको संयोजकत्वमा सुर्खेत जिल्लाको ट्राफिक व्यवस्थापन तथा सहरी सौन्दर्यका लागि २६ बुँदे तत्कालिन कार्ययोजना निर्माण गरि कार्यान्वयन भइरहेको छ । विभिन्न नियकाहरुसँग समन्वय गरि संयुक्त अनुगमन गर्ने, दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतनामुलक कार्यक्रम गर्ने, मापसे सम्बन्धि कक्षा, विद्यालय सम्पर्क कार्यक्रम, चालकसंग एकमिनेट, यात्रूसँग एक मिनेट र कर्मचारीसँग ट्राफिक प्रहरीजस्ता अभियानहरु निरन्तर सञ्चालन गर्दै आएका छौँ ।

वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरि १०५ स्थानमा ट्राफिक संकेत चिन्हहरु समेत राखिएको छ । सुर्खेतमा सवारी आवागमन/ जामको समस्या धेरै नहुने भएकोले दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम नै बढि गरेका छौँ ।

ट्राफिक व्यवस्थापनमा समस्या र चूनौती के छन् ?

ट्राफिक व्यवस्थापनका समस्या र चुनौति त थुप्रै छन् । नागरिकहरुमा ट्राफिक नियमको उलघंन गर्ने प्रबृत्ति एकदमै धेरै छ । ट्राफिक नियमको उलघंन गरेर पनि भनसुन गर्ने प्रबृत्ति अझै बढि छ । मादक पदार्थ सेवन र सवारी चालक अनुमतीपत्र बिनै सवारीसधान चलाउने प्रबृत्ति छ । बजारक्षेत्रमा पार्किङ छैन, सडक पुर्वाधार विकसित छैन । जस्तै लेन, रेलिङ, फुटपाथ, जेब्राक्रसिङ, आकासेपुल जस्ता सडक पुर्वाधारहरु छैनन् ।

ट्राफिक संकेत चिन्हहरु समेत प्रर्याप्त मात्रामा छैनन्, सडकमा अत्याधिक खाल्डाखुल्डि छन् र ट्राफिक नियमको उलघंन गर्नेहरुका लागि जरिवाना न्युन छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

ट्राफिक संकेतहरु राख्ने काम ट्राफिक प्रहरीको होइन । त्यसको पालना भएको नभएको निगरानी गर्ने काम भने हाम्रो हो । तर यसो भनिरहँदा ट्राफिक संकेतहरु राख्नका लागि हामीहरुले पहल नगरेको भने होइन ।

सडकमा ट्राफिक संकेतहरु राख्नका लागि वीरेन्द्रनगर नगरपालिका सुर्खेतसँग समन्वय गरि विभिन्न १०५ स्थानमा ट्राफिक संकेतहरु राखेका छौँ । सडकको जिम्मेवारीका आधारमा ट्राफिक संकेतहरु राख्ने काम सडक डिभिजन कार्यालय, पुर्वाधार विकास निर्देशनालय, सम्बन्धित स्थानिय तहले गर्ने हो । यद्यपी हामीहरुले ट्राफिक संकेतहरु राख्नका लागि समन्वय भने गरिरहेका छौँ ।

वीरेन्द्रनगर प्रदेश राजधानी भएकै कारणले ट्राफिक व्यवस्थापनमा थप चुनौति छ । वीरेन्द्रनगरको जनसंख्या बढ्दो छ । सवारी चाप समेत उत्तिकै मात्रामा बढेको छ । ट्राफिक प्रहरीको दरबन्दी न्युन छ । ट्राफिक प्रहरीको आफ्नै भवन समेत छैन । नागरिकहरुको आवतजावत बढि हुने भएको कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको हो । यद्यपी ट्राफिक प्रहरीहरु काजमा आएर समेत सेवा दिनुभएको छ । हाल जिल्लामा ८१ जना कार्यरत छौँ । दरबन्दी भने जम्मा २३ जनाको हो । कम जनशक्ति हुँदा पनि हामीलाई चूनौती छ ।

सवारी दुर्घटना न्युनिकरण गर्न कसले के गर्नुपर्ला ?

ट्राफिक नियम नितान्त व्यक्तिगत सुरक्षाको लागि हो । यसमा ट्राफिक प्रहरीले मात्रै केहि गर्न सक्दैन । त्यसैले नागरिक स्तरबाटै ट्राफिक नियमको पालना गर्नु जरुरी छ ।

नागरिक सँगसँगै सम्पुर्ण निकाय जस्तै विद्युत्, खानेपानी, सडक डिभिजन, यातायात व्यवसायी, मजदुर लगाएत सरकारी तथा गैर सरकारी संघसंस्थाहरु लागिपर्नुपर्छ । ट्राफिक व्यवस्थापनको विषयलाई सबैले गम्भिर रुपमा लिनुपर्छ ।

अन्तमा केहि भन्न चाहानुहुन्छ ?

सवारी दुर्घटनाको संख्या, सवारी दुर्घटनामा परि ज्यान गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । यो संख्यासंग कसैको जिवन जोडिएको हुन्छ । प्रत्येक संख्या एउटा जिवन हो । दुर्घटनाको संख्या घटाउनबित्तिकै कसैको जिवन जोगिन्छ ।

सवारी दुर्घटनामा परि ज्यान गुमाउने तपाई हाम्रै आफन्त र प्रिय मान्छे पनि हुनसक्छन् । त्यसैले पुर्णरुपमा ट्राफिक नियमहरुको पालना गर्ने र ट्राफिक नियम पालना गर्नका लागि सघाउनुपर्छ । सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापन हामी सबैको जिम्मेवारी हो । जो जहाँ छौँ । त्यहिँबाट ट्राफिक नियमको पालना गरौं ।