‘हाइअल्टिच्युट खेलकुद ट्रेनिङ सेन्टर बनाउने तयारीमा छौं’

कर्णाली प्रदेश खेलकुदको क्षेत्रमा सम्भावना बोकेको क्षेत्र हो । पूर्वाधार र कयौं समस्याका बीच पनि कर्णाली प्रदेशका खेलाडीले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा कर्णालीको उपस्थिति देखाएका छन् । महत्वपूर्ण जितमा सफलता हासिल गरेका छन् । कर्णालीलाई चिनाउन सफल भएका छन् । यस्तो अवस्थामा खेलकुद क्षेत्रमा प्रदेश खेलकुद परिषद्ले के गरिरहेको छ ? यहाँको खेलकुद क्षेत्रका अवसर, चूनौती र योजनाका बारेमा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालसँग गरिएको कुराकानीको :

प्रदेश खेलकुद परिषद्को उपाध्यक्ष भइसकेपछि हालसम्म के–के काम गर्नुभयो ?

कर्णाली प्रदेश खेलकुद परिषद्कको उपाध्यक्ष भइसकेपछि चारवटा ‘प’लाई विशेष अवधारणा गराएर अघि बढ्ने निर्णय गरेको थिएँ । कर्णालीको खेलकुद विकासका लागि महत्वपूर्ण चार वटा ‘प’ लागू गर्न सकियो भने खेलकुदमा फड्को मार्न सकिन्छ । चार वटा ‘प’ भनेको के भने, पूर्वाधार, प्राविधिक, प्रशिक्षण र पारिश्रमिक । हामीले यि चार वटा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेका छौँ । यसै अनुसारको पहिलो पूर्वाधारका विषयमा केही काम सुरु गरेका छौँ ।

प्रदेश रंगशाला निर्माणको लागि जोड गरेका थियौं । यस अवधिमा हामीले खेलकुदको पूर्वाधारको क्षेत्रमा प्रदेश रंगशाला निर्माणको काम अघि बढाएका छौं । १० हजार दर्शक अट्ने प्रदेश रंगशाला निर्माणको काम अहिले धमाधम सुरु भइरहेको छ । ३० महिनाभित्र निर्माण कम्पनीले सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्छ । अन्य जिल्लाहरूमा पनि इन्डोर कर्भडहलहरू बनेका छन् । केही जिल्लामा रंगशाला निर्माण भइरहेका छन् ।
अर्को कुरा अर्को ‘प’ को थालनी गर्दैछौँ । प्रशिक्षक तथा प्राविधिक उत्पादन गर्ने एनआइएस तालिम प्रदान गर्दैछौं । यहाँका दक्ष खेलाडीहरूलाई प्रशिक्षक बन्नका लागि आवश्यक मापदण्ड पूरा गर्न तालिम दिने तयारी गरेका छौँ । यो तालिम लिन भारतमा जानुपर्ने बाध्यता छ । राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय केही समय पछि सुरु हुन्छ ।
अर्को ‘प’ परिश्रमिकको दक्ष खेलाडीलाई दिनुपर्ने पारिश्रमिको कुरा पनि उठाइरहेका छौँ । खेलाडीहरुलाई सरकारले कस्तो खालको पुरस्कार तथा सुविधा दिने कार्यविधि बनाउँदैछौँ । माघको दोस्रोह हत्तामा सम्पन्न हुन्छ । यसमा के छ भने राष्ट्रिय तथा अन्तराष्ट्रियमा जितेका खेलाडीहरुलाई कस्तो खालको पुरस्कार दिने भनेर कार्यविधि तयार हुँदैछ ।

यहाँको खेलकुद विकासका लागि यहाँहरुको अन्य योजना के–के छन् ?

कर्णाली प्रदेशमा खेलाडीहरु कसरी उत्पादन गर्न सकिन्छ भनेर हामीले कुन जिल्लामा कुनको खेलको सम्भावना छ  ? सबै जिल्लामा सबै विधाका खेलाडीहरु उत्पादन हुन्छन् भन्ने छैन् । जुम्लामा एथलेक्टिस विधामा अब्बल र तालिम सेन्टर कसरी बनाउन सकिन्छ भन्ने योजना बनाउँ छौं । जस्तै सुर्खेतमा फुटबलको सम्भावना छ ।

त्यही अनुसार फुटबल खेलाडीहरुका लागि फिल्ड, तालिम सेन्टर बनाएर र विद्यालयहरुसँग समन्वय गरेर प्रशिक्षणका कार्यक्रम गछौँ । यसरी हामीले सबैलाई समेट्ने गरी ग्रासुट लेवलमा खेलको प्रशिक्षणको व्यवस्था गर्दैछौँ । र सँगै प्रतियोगिता गराउने योजना छ । वर्षभरी कुनकुन जिल्लामा खेलहरु खेलाउने भनेर निमावली बनाएर बजेटको व्यवस्था गछौँ । यसरी खेलाडी उत्पादन गरेर सुर्खेतमा ल्याएर प्रशिक्षण दिएर नवौँ राष्टिय खेलकुदको लागि तयारी गरेका छौँ ।

हाइअल्टिच्युट टे«निङ सेन्टर बनाउने भनेर छलफल भएको छ । हिमाली जिल्लामा सम्भव छ । चिसो भएको ठाउँ तथा कम अक्सिजन भएको ठाउँमा तालिम गरेपछि फोक्सो बलियो हुन्छ । यसका लागि जुम्ला र हुम्लामा सम्भावना छ । मुख्यमन्त्रीसँग यस विषयमा छलफल भएको छ । अहिले हाम्रो खेलाडीहरु पोखरा जान्छन् । यदि कर्णालीमा हाइअल्टिच्युट खेलकुद टे«निङ सेन्टर बनाउन सकियो भने नेपालभरका राष्ट्रिय खेलाडीहरु यहाँ आउँन सक्छन् । यो हाम्रा लागि अवसर पनि हो ।
वीरेन्द्रनगरको चिसानापानी रंगशाला बनाउँदै छौँ । सबै जिल्लामा परिषद्को नियुक्त सकिएको छ । प्राविधिक प्रशिक्षकहरुको नियुक्ति छैन् ।

कर्णालीमा खेलकुद विकासका समस्या र चूनौती के–के हुन् ?

यहाँ खेलकुदका थुप्रै समस्या र चूनौती छन् । कर्णालीमा खेलकुदलाई सकारात्मक रुपमा लिने गरे पनि आत्म सन्तुष्टि हुने ठाउँ हामीसँग छैन् । खेलकुदमा लागेकालाई हौसला र सम्मान गर्नुपर्छ । सबैलाई चाहिने भनेको पूर्वाधार विकास हो । योसँगै खेलकुद र शिक्षालाई पनि जोड्नुपर्छ भन्ने लाग्छ । विद्यालयस्तरबाट उत्पादन भएका खेलाडी हुन सक्छन् । त्यसैले शिक्षा र खेलकुदलाईसँगै लिएर अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

खेलाडीहरुको संरक्षण, सम्बर्धन गर्ने काम भइरहेको छैन् । यति गर्न सक्यौँ भने खेलकुद विकासमा टेवा पुग्छ । हामीसँग सोही अनुसारको बजेट छैन् । खेलकुदका लागि सरकारले प्रर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ । तीनै तहका सरकार, नीजि क्षेत्रलागायत सम्पूर्णले सबैले आआफ्नो ठाउँबाट खेलकुदको क्षेत्रमा काम गरेर फड्को मार्न सकिन्छ भन्ने लाग्छ ।

तर खेलकुदको विकासमा हामीले राखेका योजनामा यस अघिको सरकारले खासै रुचि नदेखाएको जस्तो देखिन्छ । खेलकुदमा बजेट एकदमै न्यून छ । अन्य विकासका कामहरुलाई प्राथमिकता दिएर पनि हुन सक्छ । अहिले नयाँ सरकारले केही गर्छ भन्ने आशा रहेको छ । किनभने मुख्यमन्त्री ज्यू खेलकुदप्रति सकारात्मक हुनुहन्छ । उहाँ आफैं पनि राष्ट्रिय स्तरको खेलाडी हो । नेतृत्वमा राष्ट्रियस्तरको खेलाडी भएकाले केही गर्न सक्छौँ भन्ने आशा छ । उहाँले योजना ल्याऊ भन्नु भएको छ । हामीलाई बेलाबेला बोलाएर छलफल गरिहरनु भएको छ । आशा गरौँ आगामी बजेटमा खेलकुद क्षेत्रमा समेटिने छन् ।

पहुँचवाला मान्छे ल्याउँदा पनि खेलकुद क्षेत्रमा समसस्या र चूनौती रहेको छ । हामीले हाम्राभन्दा पनि राम्रा मान्छे ल्याउँन आवश्यक छ । खेलाडीहरुलाई प्रोत्साहन गर्ने खास कार्यक्रम छैनन् । प्रतियोगिता पनि हुँदैन् । बजेट कम हुनु ठूलो चूनौती हो । हामीले दाङ, पोखरा, नेपालगञ्ज गएर तालिम दिने योजना बनाएका थियौँ तर बजेट अभावले गर्न सकिएको छैन् । खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने योजना नहुँदा पनि समस्या छ । खेलाडीहरुलाई प्रोत्साहन पनि छैन् । बजेट नहुँदा खेलाडीहरुलाई प्रशिक्षण दिनसमेत समस्या छ ।

कार्यविधि तयार नहुँदा हामीलाई समस्या छ । न कर्मचारी न, प्राविधिक भर्ना गर्न सकिएको छ । खेलकुदका कार्यक्रम पनि गर्न सकिरहेको अवस्था छैन् । समयमै ऐन बनेको भए कर्मचारी राख्न सक्थ्यौँ । प्रशिक्षकहरु राख्न सक्थ्यौँ । हात भाचिएको अवस्था छ । ऐन नबन्दा काम रोकिएका छन् ।

खेलकुदमा लगानी गर्न निजी क्षेत्र कतिको उत्साहित भएको देख्नुहुन्छ ?

सबैभन्दा पहिले यस क्षेत्रलाई हेर्ने भनेको राज्यले नै हो । र खेल क्षेत्रको विकासमा निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । यहाँ कर्णालीमा निजी क्षेत्रको कन्जुस्याइँ छ । खेलकुदमा लगानी कमी देख्छु । अन्य ठाउँमा खेलाडीहरुलाई प्रयोजक गरिरहेको हुन्छ । यसले खेलाडीहरुलाई आत्मनिर्भर हुन सहयोग गर्छ । कहिकतै गरे पनि समग्रमा निजी क्षेत्रको न्यून सहभागिता रहेको छ ।

खेलाडीहरुले आफू मात्र होइन खेलकुदको विकाससँगै देश तथा आफ्नो ठाउँलाई चिनाउन सक्छन् भन्ने हो । हाम्रै कर्णालीका खेलाडीहरुले अन्तराष्ट्रियस्तरका प्रतियोगितामा गएर पदक जितेका छन् । देशको झण्डा उठाएका छन् । तर यस्ता खेलाडीहरुको सम्मान र प्रोत्साहन हुन सकिरहेको छैन् ।

खेलकुदको बजेट कम खर्च भएको देखिन्छ ।   परिषद्ले किन काम गर्न नसकेको हो ?

खेलकुदको बजेट कार्यान्वयनमा कार्यविधि नबन्दा नै समस्या छ । कार्यविधि बनेको भए कर्मचारी, प्रशिक्षकहरु राख्न सकिन्थ्यो । कतिपय कार्यक्रमहरु खर्च गर्न समस्या छन् । पेस्की लिएर केही कार्यक्रम गरेका छौं । समयमै बजेट गर्न नसकिए पछि बजेट फ्रिज हुनुपर्ने अवस्था छ ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी के छ ? 

कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटिसकेका छौँ । १० हजार दर्शक अट्ने प्रदेश रंगशालाको काम अघि बढेको छ । रंगशाला निर्माण सम्पन्न भइसकेपछि १०औँ राष्ट्रिय गर्न सबल हुन्छौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा हुन्छ । अहिले हामीले त्यसको लागि पनि तयारी अघि बढाएका छौँ । त्यहाँबाट धेरै भन्दा धेरै मेडल पदकहरू कसरी ल्याउन सक्छि भनेर योजनाका साथ तयारी गछौँ । सात वटा प्रदेशमध्ये कर्णालीले राम्रो ल्याउने छ भन्ने अपेक्षा गरेका छौँ ।

अन्य जिल्लामा इन्डोर कर्भडहलहरू पनि बनेका छन् । कुन जिल्लामा कुन खेलको सम्भावना छ त्यहाँ खेलाउँन पनि सक्छन् । जुम्लामा एथ्लेटिक्सको सम्भावना छ । त्यहाँ हुनसक्छ । पश्चिम रुकुमममा इन्डोर ब्याटमिन्टन हुन सक्छ । हुम्लामा केही खेल गर्नुपर्छ । पूर्वाधार मापदण्ड हेरेर सुर्खेत बाहेकका अन्य जिल्लामा गर्न सक्छौँ ।

रुकुमपश्चिममा खेलकुद मैदान बन्दै छ । वीरेन्द्रनगरको चिसापानीमा तालिम सेन्टरका लागि रंगशाला बन्दैछ । क्रिकेट मैदानको लागि वडा नं ९ मा बनाउने विषयमा छलफल अघि बढेको छ । वनको जग्गा परेकोले परिषद्को नाममा गराउँनुस र हामीले लगानी गरेर मैदान बनाउँछौँ भनेका छौँ । मुख्यमन्त्रीसँग यसको विषयमा छलफल भएको छ ।