स्थानिय सरकार घरदैलोको सरकार हो । पालिकाभन्दा वडा अझै नजिकको सरकार हो । त्यसैले वडाबाट बन्ने योजनाहरुले वडाबासीको मनोभावनालाई समेट्नुपर्छ । यसै सन्दर्भमा वीरेन्द्रनगर नगरपालिका वडा नं ८ सुर्खेतका अध्यक्ष टिकाराम शर्मासंग हाम्रा सहकर्मी ललिता विश्वकर्मा ओडले वडाको पाँचवर्षको योजना र नागरिकको समस्या समाधानका लागि वडाको भुमीकाको विषयमा कुराकानी गर्नुभएको छ ।
आजभोली के काममा व्यस्त हुनुहुन्छ ?
वडाका सामान्य काममा व्यस्त छु । वडामा दैनिक गरिने क्रियाकलापमा व्यस्त छु । वडाबाट हुने विभिन्न कामका शिफारिस गर्ने काममा नै व्यस्त छु । भर्खरै बजेट निर्माणको काम सकिएको छ । अब बजेट कार्यान्वयनको तयारीमा छौं ।
भखरै नेतृत्वमा आउनु भएको छ । नागरिकसंग खुसी बाँड्न जानु भयो त ?
गएका छौ । खुशी बाँड्न जनताको घरदैलोमा पुगेका छौं । जनताको घर नजिकको सरकार जनताको सुख दुख साटासाट गर्न हिँडिरहेका नैं छौं । भोट माग्दा मात्र घरदैलो हैन,उहाँहरूको समस्या सुन्न,खुशी, दुःख साटासाट गर्न नेतृत्वमा आएको हो । त्यसैले जनताका घर–घरमै जाने काम मैले गरेको छु ।
तपाईलाई नागरिकले विश्वास गरेर जिताएका छन् । नागरिकको समस्यालाई बुझनु भएको छ त ?
नागरिकका समस्या बुझेर समाधान गर्नको लागि सामाजिक रुपमा लागेका हामी कार्यकर्ता हौँ । सामाजिक रूपमा काम गर्ने दायित्व हाम्रो हो । सिमित साधनका बिचमा असिमित साधन र स्रोतको पूर्ति गर्न, त्यसलाई सम्बोधन गर्न र जनताका जनगुनासा सुन्ने दायित्व भित्र पर्छ । उहाँहरूको समस्यालाई प्राथमिकताको आधारमा समाधान गर्ने तिर लागिरहेका छौंँ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ८ का खास समस्याहरु के–के छन् ?
पहिलो वीरेन्द्रनगर ८ मा खानेपानीको समस्या छ । फोहोर व्यवस्थापनमा कठिनाई छ । सामाजिक रूपले हुने समस्या, विकास निर्माणको कुरा, शिक्षा,स्वास्थ्यको समेत समस्यकोरुप रहेको छ । अन्य थुप्रै समस्याहरु समेत रहेका छन् । त्यसको समाधानका लागि हामी लागिरहेका छौं ।
नागरिकका समस्या समाधानका लागि के योजना बनाउनु भएको छ ?
विशेष गरी खानेपानीको समस्या समाधानको लागि दिर्घकालीन रूपमा भेरी लिफ्टिङ खानेपानी योजना निर्माणको प्रक्रिया अगाडि बढाएका छौं । नगर परिषद्बाट डि बोरिङलाई रिजल्ट ट्याङ्की निर्माण गरेर आपत्कालिनका केही हदमा भएपनि खानेपानीको आपूर्ति पूरा गर्न लागिरहेका छौं । यसका लागि करिब दशलाख बजेट छुट्याएका छौं । विकास निर्माणका काम लाई पनि अघि सारेका छौं ।
पछाडि परेका वर्ग समुदायको लागि सशक्तिकरण कार्यक्रमका लागि सात लाख बजेट छुट्याएका छौं । आयआर्जनतिर पाँच लाख, पूर्वाधार क्षेत्रमा ४५ लाखको सम्म बजेट छुट्याएका छौं । शिक्षातर्फ सोह्रसत्र लाख, स्वास्थ्यतिर १२ लाख छुट्याएर नागरिक समस्या समाधानको लागि विभिन्न शिर्षकमा बजेट छुट्याएका छौं ।
अबको ६ महिनामा वडामा के–के काम गर्दैहुनुहुन्छ ?
पूर्वाधार विकासतर्फ तिर विशेष ध्यान दिएका छौं । खाल्डाखुल्डी बाटोलाई बनाउनु पर्ने ,ढलका कुरा छन् । अहिले पछिल्लो समयमा वर्षाको अवस्था छ । डुवानका क्षेत्रहरु छन् । तिनलाई तत्कालीन रुपमा व्यवस्था गर्ने तयारी छौं । फोहोर व्यवस्थापनलाई उत्पादन संग जोडेर अगाडि लैजाने की भनेर योजना बनाएका छौं । शैक्षिक, स्वास्थ्यका क्षेत्र सुधारका काम गर्ने छौं । बालबालिकाको क्षेत्रमा, खेलकुदको क्षेत्रमा बजेट छुट्याएका छौं । पहिलो चरणमा बजेट कार्यान्वयनका लागि आधार तयार गर्ने नै योजना रहेको छ ।
यस वडामा सीमान्तकृत समुदाय बढी छन् । उनीहरूको उत्थानको लागि के योजना बनाउनु भएको छ ?
अहिले पनि सीमान्तकृत समुदाय राज्यको पहुँचमा नआएको अवस्था छ । उनीहरूलाई आफ्नो अधिकार क्षेत्रमा के पर्छ , कहाँ पाइन्छ ? कसरी पाइन्छ ? भन्ने कुरामा जनचेतना अभिवृद्धिका कार्यक्रमहरु ल्याउने र सचेत बनाउने पहिलो पाटो हो । विशेष गरी उनीहरुलाई उत्पादनसंग जोडेर कसरी लैजान सकिन्छ । उत्पादनको क्षेत्रमा आयमुलक कार्यक्रम जोड्नका लागि सिप विकासको कुरालाई प्राथमिकतामा राखेका छौं । सिप विकासबाट उनीहरूलाई स्वयम् स्वरोजगार हुने गरी कार्यक्रम सञ्चालन गर्ने, हामीले लै. स.सा.स र पिछडिएका वर्ग लाई अरु नागरिक सरह अगाडि बढाउने छौं ।
यो वर्षका लागि बजेट निर्माण भइसकेको छ । के कुरालाई प्राथमिकता दिनुभएको छ ?
पहिलो प्राथमिकता खानेपानी लाई दिएका छौं । त्यसपछि यहाँको पूर्वाधार विकास, फोहोर व्यवस्थापन, सिमान्तकृत समुदाय, बालबालिकाको क्षेत्र, खेलकुदको क्षेत्र, शिक्षा र स्वास्थ्य र आम नागरिकमा आएका समस्याहरूलाई समाधानका लागि बजेटको व्यवस्थापन गरेका छौं । भौतिक पुर्वाधार मात्र विकास होइन सामाजिक विकास समेत हुनु जरुरी छ भन्ने हेतुले यो क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमहरु ल्याएका छौंँ ।
अबको पाँच बर्षमा तपाईंको योजना के छ ?
कानुनी मर्यादा भित्र रहेर हामीले खानेपानी, शिक्षा, स्वास्थ्य , पूर्वाधार र वडामा रहेको फोहोर व्यवस्थापनलाई विशेष ध्यानमा दिएर काम गर्ने छौं । उत्पादन क्षेत्रमा जनताको दैनिक जिवनयापन सहज हुने गरी हामी हाम्रै उत्पादन क्षेत्रलाई विकास गर्न सक्छौं । सबै युवाहरुलाई स्वरोजगार बनाउने, पूर्वाधार संरचना निर्माण तिर उन्मुख हुने छौं ।
हाम्रो वडा बजारीकरणको क्षेत्र समेत भएको कारण यसलाई बजारीकरणको क्षेत्रको रूपमा विकास गर्ने योजना छ । यहाँ रहेका फूटपाथ व्यवसायहरुलाई धेरै ध्यान दिने, सडक बत्तिहरुको व्यवस्थापन, सडकलाई फराकिलो बनाउने र सडक पिच गर्ने छौं ।
फोहोर व्यवस्थापन ध्यान दिने छौं । शैक्षिक गुणस्तरलाई सुधार गर्ने छौं । स्वास्थ्यका क्षेत्रमा विशेष योजना बनाएर घर–घरमा स्वास्थ्यको पहुँच पुग्ने गरी अगाडि बढ्ने छौं । आयआर्जन र रोजगारमुलक काम सिर्जना हुने गरी अगाडि बढ्ने छौं । पिछडिएका वर्गलाई राज्यको पहुँचमा मूलप्रवाहीकरण गर्ने हाम्रो दायित्व भित्र पर्छ, । मेरो पाँचवर्षको कार्यकालमा एउटा नमुना वडाको रुपमा मेरो वडा बनोस् भन्ने उदेश्यले मैले काम गर्न सुरु गरेको छु ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
वास्तवमा यो एउटा शैक्षिक रूपले विकसित वडा हो । यो सुगम वडाको रूपमा बुझिन्छ । काम गर्नलाई सबैले एकरूपता भएर सबैको अर्थपूर्ण सहभागिता खोजेर हरेक निर्माणमा सबैको सहभागिता पुग्यो र सँगै लैजान सक्यौ भने शिक्षाको दृष्टिकोणले विकासका दृष्टिकोणले बजारीकरण दृष्टिकोणले सबै कुरालाई हल गर्न सक्छौं । मैले मेरो वडाको नेतृत्व गर्दा यो वडालाई कता लैजाने भन्ने विषयमा जतीबेलापनि मेरो वडा बासीहरुले मलाई सुझाव दिनसक्नुहुन्छ ।
ललिता विश्वकर्मा ओड २३ श्रावण २०७९, सोमबार ११:२४