
दुर्गा कुमारी गुरुङ् भारतमा जन्मिएकी हुन् । वि.स २०२६ सालमा बुवा लिलाराम गुरुङ र आमा स्यानादेवी गुरुङको कोखबाट घरमा जेठो सन्तानको रुपमा जन्मिएकी दुर्गा भर्खरै राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट महिलातर्फ निर्वाचित भएकी छन् ।
बुवा भारतिय सेना भएको कारण दुर्गाको लाहुरमै छँदा जन्म भयो । दुर्गा जन्मिएपछि उनकी आमा नेपालमै बस्न थालिन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं १ ढोडेखालीमा उनको बाल्यकाल बित्यो । लाहुरे खान्दानी परिवार भएको कारण उनले बाल्यकालमा दुख झेल्नु परेन ।
विद्यालय पढ्दै गर्दा उमेरले भर्खरै १५ लागेकी दुर्गाको प्रेम सोही ठाउँका यज्ञबहादुर गुरुङसंग बस्यो । उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत भयो । २०४० सालमा दुर्गा वैवाहिक बन्धनमा बाँधिइन् ।
लाहुरे खान्दानी परिवारमा हुर्किएकी दुर्गाले अब राजनीतिक संस्कार पनि सिक्नुपर्ने भयो । किनकी उनका श्रीमान विद्यार्थी राजनीतिमा सक्रिय थिए । राजनीतिमा सक्रिय रुपमा लागेका उनका श्रीमान राजनीति छोडेर अन्य पेशा अंगाल्नेवाला थिएनन् ।
राजनीतिबारे खासै चासो र ज्ञान नभएकी दुर्गाले श्रीमानको साथ र प्रभावमा राजनीतिमा प्रवेश गरिन् । श्रीमान् नेपाल विद्यार्थी संगठनमा रहेर विभिन्न पदमा काम गर्न थाले । दुर्गा पनि संगसंगै वडा र नगरका विभिन्न महिला संगठनमा नेतृत्व लिन थालिन् ।
सरल स्वभाव र समाजसेवामा अत्याधिक लगाव भएका दुर्गाका श्रीमान् निरन्तर राजनीतिमै सक्रिय थिए । भाषणले मोहित बनाउने कला भएका उनका श्रीमान् वि.स २०५८ सालमा जिल्ला खेलकुद विकास समिती सुर्खेतका अध्यक्ष थिए ।
संकटकालमा पनि पार्टी र जनताको सेवामा निरन्तर लागेका यज्ञ गुरुङलाई २०५८ साल पुस २७ गते साँझ ७ बजेतिर खाना खाँदै गर्दा तत्कालिन विद्रोही पक्ष नेकपा माओबादीका कार्यकर्ताले गोली हाने । वीरेन्द्रनगर १ ढोडेखालीमा रहेको आफ्नै घरमा खाना खाँदै गर्दा छाती र कन्चटमा गोली लागेका दुर्गाका श्रीमानको अस्पताल लैजाँदा–लैजादै मृत्यृ भयो ।
त्यसपछि दुर्गाका दुखका दिन सुरु भए । श्रीमानको विद्रोही पक्षले हत्या गरेपछि दुर्गा घरमा बस्न सकिनन् । उनी छोरालाई लिएर काठमान्डौं हानिइन् ।
३२ वर्षको उमेरमा जिवनको साहारा गुमाएकी दुर्गाले आफ्नो छोरालाई नै साहारा मानिन् । छोराको पढाई र उज्वल भविष्यमा नै तल्लिन हुने अठोट लिएर राजनीतिलाई उनले थाँती राखिन् ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा पनि उनलाई पार्टीले समानुपातिक सांसदको टिकट दिएको थियो तर उनी सो समयमा पराजित भइन् ।
श्रीमान्ले राजनीतिबाटै देश र जनताको सेवा गर्नेभनी लिएको अठोट र देखेको सपना दुर्गाको सपना भइसकेको थियो । तर उनी छोराको बाल्यकाल भने आँफुबाट टाढा राख्न चाहाँदैनथिन् । त्यसैले छोरा सक्षम नहुञ्जेल राजनीतिमा नर्फकने सोच बनाएकी थिइन् ।
हाल दुर्गाका छोरा र बुहारी यु.केमा छन् । पार्टीले कुनै दिन त मुल्याँकन गर्ला नी भन्दै दिन गनेर बसेकी दुर्गालाई यसरी राष्ट्रिय सभा सदस्यका लागि पार्टीले शिफारिस गर्ला र निर्वाचित भइएला भन्ने लागेकै थिएन ।
‘राजनीति मेरो भन्दापनि श्रीमानको सपना थियो’ उनले भनिन् “२१ वर्षपछि मेरो श्रीमानको आत्माले शान्ति पाएको छ । उहाँको सपना अब म पुरा गर्न जाँदैछु ।”
नेपाली काँग्रेसमा रहेर पार्टीको विभिन्न तहमा काम गरेका दुर्गाका श्रीमानलाई विद्रोही पक्षले जासुसीको काम गरेको आरोपमा गोली हानेको थियो ।
‘हिजो विद्रोही पक्षले नै उहाँको हत्या ग¥र्यो ।’ उनले मलिन् हुँदै थपिन् “ आज मेरो जितमा पनि त्यहि पक्षको साथ भयो । यो कस्तो संयोग होला ?
दुर्गाका लागि यो पहिलो अनुभव हो । यस भन्दा अगाडि कुनैपनि पदमा रहेर काम गरेको अनुभव उनलाई छैन । सहि समयमा पार्टीले गरेको उचित मुल्याँकनकै कारण आँफु निर्वाचित भएको उनले सुनाइन् ।
पार्टीले दिएको जिम्मेवारी र प्रतिनिधिले गरेको विश्वासलाई कुल्चिन नदिने गरि काम गर्ने दुर्गाले बताएकी छन् ।

सीता वली २० माघ २०७८, बिहीबार १२:२२