महिला र बालबालिकाको क्षेत्रलाई प्राथमिकता दिन्छुः उपाध्यक्ष न्यौपाने

जनताले नयाँ जनप्रतिनिधि पाएको तीन महिना वितिसकेको छ । यस अवधीमा नवनिवार्चित जनप्रतिनिधिले आ आफ्ना स्थानीय तहहरुमा के कस्ता योजना बनाएर काम गरिरहेका छन् र आगामी पाँच वर्षको अवधीमा कस्ता कस्ता कामको योजना बनाएका छन् त यसै विषयमा केन्द्रित रहेर फरकबाटोकर्मी ललिता विश्वकर्मा ओडले डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेसंग गरेको कुराकानीको सम्पादित अंशः

आजभोली के काममा व्यस्त हुनुहुन्छ नि ?

पालिकामा गर्ने दैनिक काममा व्यस्त छु । साथै ४० करोड भन्दा माथि बजेट विनियोजन गर्ने काम भखरै सकेका छौं । पहिलो चौमासिक बजेट पनि आएको छैन । विनियोजन गरेका योजनाहरुलाई बजेटलाई पर्खिदा ढिलो हुने हुँदा उपभोक्ता समिति बनाएर विकासका काममा अगाडी बढ्नु पर्छ भनेर त्यसमा लागिरहेका छौं ।

नेतृत्वमा आउनुभएको छ, पालिकाबासीसंग खुशी बाँड्न जानु भयो त ?

चुनाव अघि पनि घर घरमा गएर भेटघाट गरेका थियौं । प्रत्येक दिनमा कुनै न कुनै कामको शिलशिलामा भेटघाट हुन्छ । त्यसैमा विशेष जनतासंग खुशी बाड्नको लागि हामीले नीति कार्यक्रममा जनतासंग जनप्रतिनिधि भेटघाट भनेर नीति नैं बनाएका थियौं । डुंगेश्वर गाउँपालिका वडा नं १ बेलपाटाबाट जनता भेटघाट गर्ने काम सुरु गरिसकेका छौं ।

जनताले विश्वास गरेर जिताउनु भएको छ, उहाँहरूको समस्यालाई बुझ्नु भयो त ?

जनताका समस्या अहिले मात्र नभएर त्यो दिनबाट बुझ्दै आएको छु । उहाँहरुका समस्यालाई बुझ्नु मात्र नभएर समस्याहरूलाई समाधानको लागि समस्या सङ्कलन गरेर राखेका छौं ।

डुंगेश्वर गाउँपालिका मुख्य समस्याहरू के रहेका छन् ?

यस पालिकामा पूर्वाधारमा धेरै समस्या रहेको छ । भौगोलिक अखण्डता कारण बाटोघाटोको मुख्य समस्या रहेको छ । खानेपानी, स्वास्थ्य, शिक्षा , महिला हिँसा, घरेलु हिंसा , बालविवाह, लैङ्गिक हिंसा , कृषि, बादी समुदायको आवास नहुनु यहाँका समस्या भित्र पर्छन ।

यी समस्या समाधानको लागि के योजना बनाउनु भएको छ ?

हामीले नीति योजनामा आधारित रहेर बजेट विनियोजन गर्ने काम गरेका छौं । पालिकाको नीति कानुनमा रहेर काम गर्ने छौं । कृषि क्षेत्रको विकास लागि ८ लाख बजेट छुट्याएको छौं । यसमा प्रत्येक वडामा भेटनरी डाक्टर राख्ने, उन्नत जातको बीउबिजन पालिकामा दिने , शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएका छौं । सामाजिक क्षेत्रमा महिला लक्षित कार्यक्रम, बाल लक्षित कार्यक्रम , एकल महिला, जेष्ठ नागरिकका कार्यक्रम ल्याएका छौं । कुनै एउटा महिला ४५ वर्ष सम्म विवाह गर्नु भएन भने उहाँलाई भत्ता दिने व्यवस्था गरेका छौं । सुत्केरी महिलाको लागि बाहिर जानु परेमा निशुल्क एम्बुलेन्स सेवा दिने योजना छ । खानेपानीको समस्या समाधानको लागि बजेट छुट्याएका छौं । बालविवाहको समस्या समाधानको लागि विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने योजनामा छौं ।

वादी समुदायकाको समस्यालाई कसरी सम्बोधन गर्नु हुन्छ नि ?

वादी समुदायको मुख्य समस्या भनेको आवासको समस्या रहेको छ । पालिकाले प्रत्येकलाई आवास दिन असम्भव छ । यो भन्दा पहिलाको सरकारले ८, ९ वटा घर हाल्ने प्रयत्न गरेको थियो । अहिले पनि आवास कार्यक्रम अन्तर्गत उहाँहरुलाई व्यवसायिक बनाउन तिर पालिका लागिरहेको छ ।

अबको ६ महिनामा के काम गर्नु हुन्छ नि ?

हामीले ६ महिनासम्म बजेट पाउन नपाउने टुंगो छैन । तर बजेट आएन भनेर ठप्प बस्ने कुरा पनि भएन । कार्यालयमा गरिने दैनिक काम सँगै मैले गर्भवती महिलासंग उपाध्यक्ष भेटघाट कार्यक्रम गर्ने छु । भौतिक पूर्वाधारका कुरालाई जोड्ने छौं । आफूले नजानेका कामहरूलाई कुन निकायसंग समन्वय गरेर अगाडी जान सकिन्छ । भनेर समन्वय गरी जनताको माग अनुसारको काम गर्ने छौं ।

बजेटमा के कुरालाई प्रथामिकता दिनु भएको छ ?

पहिलो त हामीले पूर्वाधारमा जोड दिएका छौं । सडकलाई कालोपत्रे गर्ने, त्यसैमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक क्षेत्रका कामहरू छन् । काम गर्दै जाँदा जुन कुरामा समस्या आउँछ । सोही अनुरूप काम गर्नेछौं । स्वास्थ्य चौकीमा सुत्केरी महिला आउनु हुन्छ । उहाँहरूको सामान्य प्रसूति सेवा त्यहाँ नहुँदा बाहिर रिफर गर्नुपर्ने अवस्था आउँछ । त्यो अवस्थामा बाहिर यातायात सुविधा नहुने हरेक नागरिकलाई पैसाको अभावले मृत्युको मुखमा पुग्ने समस्या आएपछि पालिकबाट बाहिर रिफर गर्नलाई निशुल्क एम्बुलेन्स सेवा दिने पहिलो प्राथमिकता छ । अर्को आमा बुवा गुमाएका बालबालिकालाई सहयोग गर्ने छौं ।

अबको पाँच वर्षको योजना के रहेको छ ?

पालिकाको नीति कार्ययोजना अनुरूप पालिकाको कानूनमा काम गर्ने छौं । पूर्वाधारको विकासका काम, खानेपानी समस्या समाधान, शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, सामाजिक विकासका कामहरूमा महिलालाई नेतृत्व विकास तालिमहरु दिने, कृषिमा उत्कृष्ट गर्नेलाई सम्मान कार्यक्रम, जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम, कृषि अनुदान कार्यक्रम गर्ने, पशु व्यवसायको कुरामा प्रत्येक वडामा भेटनरी सहजकर्ता र भेटनरी कर्मचारी राख्ने योजना छ । हिंसामा परेका मान्छेहरूलाई कानुनी सहयोग गर्ने योजना छ । विभिन्न विद्यालयमा विद्यालय स्तरीय कार्यक्रम गर्ने छौं । डुंगेश्वर बासीको हकहितका लागि चाल्नुपर्ने कदमहरूमा निरन्तर चाल्ने छु । पर्यटकीय स्थलको विकास गर्ने पाँच वर्षको योजना छ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

मलाई विश्वास गरेर जिताउनु हुने डुंगेश्वर बासीलाई यसै मार्फत धेरै धेरै धन्यबाद भन्न चाहन्छु । पाँच वर्षको कार्यकालमा डुंगेश्वर गाउँपालिकामा गरिने विकासका काममा हामीले समेट्न छुटाएका कामहरूलाई समेटेर अगाडि लैजानको लागि साथ सहयोग गर्न अनुरोध गर्छु । जसरी उहाँहरूले विश्वास गरेर मलाई नेतृत्वमा पु¥याउनु भएको छ । तपाईंको विश्वासलाई खेर जान दिने छैन भन्न चाहन्छु ।