जनताले स्थानीय तहमा नयाँ जनप्रतिनिधी पाएको चार महिना पुग्नै लाग्यो । हरेक पालिकाहरुले आ–आफ्नो पालिकाको लागि पञ्चवर्षिय योजना तर्जुमा गरी बजेट विनियोजन गरिसकेका छन् । यस्तै गुराँस गाउँपालिकाले यो चार महिनाको अवधीमा के कस्ता योजना बनाएर काम गरे साथै आगामी पाँच वर्षमा गाउँपालिकाको योजना तर्जुमा के कस्तो छ र कस्तो योजनालाई प्राथमिकता दिइएको छ ? यसै विषयमा केन्द्रित रहेर गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्कासंग फरकबाटोकर्मी ललिता विश्वकर्मा ओडले गरेको सम्पादित अंशः

आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?
विशेष गरी विद्यालय अनुगमन तिर लागिरहेको छु । पालिकामा गरिने दैनिक कार्यसँगै पालिका बासीका समस्या समाधान गर्न तिर लागिरहेका छौं ।
तपाईं जितेर नेतृत्वमा आउनु भएको छ, पालिकाबासीसंग खुशी बाँड्न जानु भयो त ?
म गुराँस गाउँपालिकाको सम्पूर्ण वडाको टोल टोल पुगेको छु । सामाजिक क्षेत्रमा पहिलेदेखि नै जोडिएको हुँदा चुनावको बेला पनि गए र उहाँहरूसंग सुख दुःख बाँड्न दैनिकी भेटघाट मैं व्यस्त हुन्छु । भेटघाटको यात्रा मेरो ५ वर्ष सम्मको रहनेछ ।
पालिकाबासीको समस्यालाई बुझ्नुभयो त ?
म सामान्य घरपरिवारबाट हुर्केको मान्छे हुँ । आफ्नै गाउँ टोलमा हुर्केको हुँदा सबै वडाहरुको समस्या मैले सानै देखि बुझ्दै आएको छु । उहाँहरूको समस्या बुझेर केही हदमा पालिका बासीको जीवनस्तर उकास्न र पालिकाको विकास गर्नलाई नेतृत्वमा आएको हुँ । वडाको समस्या मेरो समस्या हो । वडाका हरेक समस्याको समाधान गर्नकै लागि म नेतृत्वमा आएको हो । समस्या समाधान गर्न लागि पनि परिरहेको छु ।
गुराँस गाउँपालिकाका मुख्य समस्याहरू के–के छन् ?
यस गाउँपालिकामा समस्या त जता गयो उतै समस्या समस्या मात्र देखिन्छन् । विशेष गरी स्वास्थ्य, खानेपानी, विद्युत, कृषि, बाटोघाटो, महिलाहरुको समस्या, शिक्षा, रोजगारको समस्या, जातिय छुवाछुत, बालविवाह बढी नैं छ ।
समस्या समाधानको लागि के योजना बनाउनु भएको छ ?
यस पालिकामा ६४ करोड भन्दा माथि बजेट विनियोजन भएको छ । पालिकाले नीति तथा बजेट कार्यक्रममा यी सबै समस्याहरूलाई समेटेर विभिन्न शीर्षकमा बजेट छुट्याएको छ ।
जातीय छुवाछूत अन्त्यको लागि सबैमा चेतना अभिवृद्धिका कार्यक्रम ल्याएका छौं । एकल महिला, दलित समुदायलाई निशुल्क विद्युत जडान, मिटरहरू वितरण गरिदिने, विद्युत महशुलमा छुट दिने, खानेपानी आपूर्ति लागि एक घर एक धारा अभियान नीति तथा बजेट कार्यक्रममा समेटेका छौं ।
सडकको स्तर उन्नतिको लागि जे सी विको प्रयोग बिना पालिका बासीलाई रोजगार दिने उद्देश्यले पालिका भित्र नै युवालाई रोजगार दिलाउनलाई श्रम बैंक कार्यक्रम ल्याएका छौं । विद्यालयमा छात्रा, अपाङ्ग मैत्री शौचालय बनाउने, आवासीय विद्यालय बनाउने, कृषिमा सुधार ल्याउन एक घर एक पोखरी र रैथाने बीउबिजनलाई प्राथमिकता दिने कार्यक्रम ल्याएका छौं । उत्कृष्ट कृषि उद्दमी सम्मान कार्यक्रम, यस पालिकालाई कृषि बाट नै आत्मा निर्भर बनाउने योजना छ । यसका लागि आधुनिक किसिमको कृषि कार्यक्रम ल्याएका छौं ।
स्वास्थ्यमा गर्भवती महिला तथा सम्पूर्णको लागि प्रत्येक दुई–दुई महिनामा शिविर सञ्चालन गरेर निशुल्क अल्ट्रासाउण्डबाट निशुल्क उपचार गरिने छ । त्यो पालिकामा ल्याइसकेका छौं । महिला उद्यमी उत्पादन गर्ने, उत्कृष्ट महिला उद्यमी सम्मान गर्ने, बालबालिका लक्षित थुप्रै कार्य योजना छन् । विपन्न बालबालिकालाई छात्रवृत्ति, कक्षा १२ पास गरेका छोरी चेलीलाई उपाध्यक्षकोष बाट छात्रवृत्ति दिने, किशोरीहरुलाई सेनीटरी प्याड उपलब्ध गराउने, रेष्ट रूम बनाउने यस्तै धेरै योजना रहेका छन् ।
बालविवाहको अन्त्यको लागि के योजना बनाउनु भएको छ ?
बालविवाह न्यूनीकरण गर्नको लागि उपाध्यक्षको इच्छा छोरी बुहारीलाई उच्च शिक्षा भन्ने कार्यक्रम ल्याएको छौं । साथै किशोरीहरुलाई क्षमता अभिवृद्धिका तालिम दिने प्रशिक्षणका कार्यक्रम चलाउने योजना छ । जसका कारण सानै देखि बालबालिका शिक्षित हुने, चेतना फैलने हुँदा बालविवाह कम हुँदै जान्छ ।
अबको छ महिनामा के काम गर्नु हुन्छ नि ?
मेरो पालिकामा न्यायिक समिति छ । तर त्यसमा संरचना छैन् । एउटा न्यायिक छलफल कक्ष बनाएर अन्यायमा परेका पीडितहरुलाई न्याय दिने, प्रत्येक विद्यालयमा किशोरीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पालिकामा अल्ट्रासाउण्ड बाट निशुल्क शिविर सञ्चालन गर्ने, महिला, युवा, बाल सञ्जाल गठन गर्ने, मेलमिलाप समितिलाई प्रशिक्षणको आयोजन गरी प्रशिक्षण दिने काम गर्ने योजना छ ।
बजेटमा के कुरालाई प्राथमिकता दिनु भएको छ नि ?
महिला, बालबालिका, किशोर किशोरीलाई क्षमता अभिवृद्धि र कृषिलाई आधुनिकीकरणमा जोड दिएका छौं । साथै स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सडक साथै जति पनि पालिकामा आउने समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने छौं ।
अबको पाँच वर्षमा तपाईंका योजना के रहेका छन् ?
पालिकामा छुट्याएको बजेटको आधारमा स्थानिय तहका लागि बनाइएका नियम कानुनमा रही जनता र पालिकाको विकास हुने सम्पूर्ण काम गर्नेछौं । विशेष गरी मैले यो पाँच वर्षमा पालिकामा बालविवाह न्यूनीकरण गर्ने लक्ष्य छ । खानेपानीको समस्या समाधानको लागि ल्याइएको एक घर एक धारा कार्यक्रम पाँच वर्षमा पूरा गर्नेछौं । विद्युत सम्बन्धी सम्पूर्ण काम आफ्नो पालामा सक्ने, प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्नेछौं । दीर्घरोगी असाय, अपाङ्ग, दलितको हकमा गाउँपालिकाले नैं निशुल्क स्वास्थ्य बीमा गरिदिने योजना छ । पालिकामा गुराँस कोसेली घर स्थापना गर्छौ । जहाँ गुराँसका सम्पूर्ण सामग्रीहरू त्यहाँबाट वितरण गर्ने, धेरै महिला उद्दमी उत्पादन गरी वैदेशिक रोजगारीमा जानेहरूलाई आफ्नै पालिकामा स्थापित गर्ने, गुराँस गाउँपालिकालाई पाँच वर्षमा खरका छाना मुक्त बनाउने योजना छ ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
मलाई जसरी तपाईंले विश्वास गरेर कार्यान्वयन क्षेत्रमा पठाउनु भएको छ । जति आश म बाट गर्नु भएको छ, तपाईंको आशा अपेक्षा पूरा गर्नेछु । गुराँस गाउँपालिकाको विकासका निमित्त पाँच वर्षसम्म म निरन्तर लागि रहने छु । मलाई जसरी विश्वास गरेर यो ठाउँमा पु¥याउनु भएको छ । अझै सुझाव सल्लाह दिनुहुने अपेक्षा गरेको छु । सम्पूर्ण पालिका बासीलाई धन्यबाद भन्न चाहन्छु ।

फरकबाटो २० भाद्र २०७९, सोमबार १५:०८