भुकम्पको जोखिममा पश्चिम नेपाल


सुर्खेत । पछिल्लो एक वर्षमा गएको देशभर ५५ वटा ४ रेक्टर स्केलमाथिका भूकम्प गए । त्यसमध्ये २५ वटा परकम्पन कर्णाली र सुदूरपश्चिममै गएका थिए ।

२२ कात्तिक, २०७९ मा भने ६ जनाको ज्यान लिने गरी गएको ६।६ रेक्टर स्केलको डोटी भूकम्प वर्षकै सबैभन्दा ठूलो थियो । फलतः अहिले पनि पश्चिम नेपाल भूकुम्पको सबैभन्दा जोखिममा रहेको विज्ञहरु बताउँछन् ।

तथ्यांकअनुसार बाजुरामा मात्रै एक वर्ष बीचमा १० पटक यस्तो भूकम्प गएको छ । बाजुरा केन्द्रविन्दु भएर बिहीबार मध्यराति मात्रै दुई पटक भूकम्प गएको छ । बैतडी, मुगु, दैलेख, अछाम, दार्चुला, रुकुम पश्चिम, डोटी र जुम्लामा पनि यो एक वर्ष बीचमा ४ रेक्टरमाथिको भूकम्प गएका छन् ।

एक वर्षबीचमा पश्चिम नेपालकै रुकुम, बाँके र बाग्लुङमा पनि भूकम्पहरू गएका छन्।

भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन । २ माघ १९९० मा ८ रेक्टरको भूकम्प जाँदा नेपालको राजधानी काठमाडौंमा समेत धनजनको ठूलो क्षति भएको थियो ।

अध्ययन अनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने सम्भावना रहेको भूकम्पीय जोखिम नक्सामा उल्लेख छ ।