शान्ति सम्झौताका १५ वर्ष : द्वन्द्वपीडितले न्याय कहिले पाउने ?

सुर्खेत । वीरेन्द्रनगर ३ तातोपानीकी आइते सार्कीले न्यायका लागि आवाज उठाउन थालेको वर्षाै भयो । १० वर्षीय शसस्त्र द्वन्द्वको समयमा उनको परिवारले ठूलो क्षति व्यर्होनु प¥यो । उनी र उनका श्रीमान शारिरीक अशक्त मात्र भएनन्, उनीहरुको गासबास नै खोसियो । राज्य र विद्रोही पक्षबाट उनको परिवार पीडित भए पनि अहिलेसम्म राहत समेत पाउन सकेका छैनन् ।

उनले भनिन्, ‘विद्रोही पक्षले जबरजस्ती पार्टीको काममा लगाए । राज्य पक्षले विद्रोही पक्षलाई सहयोग गरेको भनेर दिनहुँ यातना दिए । शान्ति सम्झौता भएको धेरै भइसक्यो तर हामीले न न्याय पाएका छौँ, न कुनै सुविधा ।’ उनले अहिले उपचार खर्च समेत नहुँदा घरमै थलिएर बस्नु परेको बाध्यता सुनाइन् ।

आज पनि उनको परिवार न्यायको खोजीमा छ । विभिन्न कार्यक्रमहरुमा उनको एउटै प्रश्न हुन्छ, हामीले न्याय कहिले पाउँने ? उनी यही प्रश्न बारम्बार गर्छिन् । हालसम्म उनले परिचय पत्र पनि नपाएको गुनासो गरिन् ।

आइते सार्की जस्तै न्यायको पर्खाइमा छन् कुश योगी । कालीकोटकी ४७ वर्षीय योगी छोरीलाई उपचार गरेर घर फर्किदा २०५७ सालमा दोहोरो भिडन्तमा परेर घाइते भएकी हुन् । विद्रोही पक्षलाई साथ दिएको भनेर उनको परिवारलाई राज्य पक्षबाट बारम्बार यातना भयो । द्वन्द्वको समयमा उनको सासु, देवर र छोरीको मृत्यु भयो ।

स्थायी शिक्षक रहेका उनका श्रीमान् घाइते भए । अहिले योगीका दुवै जना घाइते छन् । ‘निर्दोष भएर पनि राज्यले दोषी बनायो ’ उनी भन्छिन् “ न्यायको पर्र्खाइमा बसेकै २१ वर्ष भयो ।” शान्ति सम्झौता भएकै १५ वर्ष बित्दा पनि न्याय पाउन नसकेको उनले गुनासो गरिन् ।

२०६३ साल मंसिर ५ गते वृहत् शान्ति सम्झौता भएको थियो । सम्झौता भएको आज १५ वर्ष पुगिसकेको छ । द्वन्द्वपीडित न्यायको पखाईमा छन् । उनीहरुको अवस्था अहिले पनि जहाँको त्यहीँ छ ।

सरकारले कनिका छरे झै ल्याएका कार्यक्रम तथा बजेटपनि गैरपीडितहरुले पाउने गरेको उनीहरुको गुनासो छ । आइतबार द्वन्द्वपीडितको सवालमा काम गर्दै आएका विभिन्न संघसंस्थाले आयोजना गरेको बिस्तृत शान्ति सम्झौताको १५ वर्ष र संक्रमणकालिन न्यायको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अझै पनि आफुहरुले न्याय पाउन नसकेको बताए । पीडितहरुले न्यायसँगै शिक्षा, स्वास्थ्य उपचार र रोजगारीको व्यवस्था गरिदिन सरकारसँग वर्षौदेखि माग उठाउँदै आएका छन् ।

वीरेन्द्रनगर ४ की बसन्ता विकले शहिद परिवार र घाइतेलाई पार्टीले समेत नखोजेको भन्दै गुनासो गरिन् । ‘शहिदका परिवारको अवस्था नाजुक छ ’ उनले भनिन्, “घाइतेहरु उपचार नपाएर मर्न बाध्य छन् । पार्टीका नेताहरु पटक–पटक सरकारमा पुगे तर हाम्रा शहिद भएका साथीहरुको परिवार कहाँ छन् भनेर खोज्नुपर्दैन् ?