
सुर्खेत । पछिल्लो समय सुर्खेत जिल्लामा लागुऔषध कारोबार गर्नेहरुको संख्या बढेको छ । दैनिकजसो कारोबार गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई कार्रबाही समेत गर्ने गरेको हो ।
मोबाइल पसल, होटेल तथा रेष्ट्ररेन्टहरुबाट प्रहरीले लागुऔषध कारोबार गर्नेहरुलाई दैनिकजसो पक्राउ गरेको हो । विशेषगरि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका केन्द्रबिन्दु बनाई लागु औषध कारोबार हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंव डिएस्पी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार चालुआर्थिक वर्षसहित चार आर्थिक वर्षमा जम्मा ३ सय ५७ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा प्रदेश प्रहरी कार्यालयको लागु औषध ब्युरोले पक्राउ गरेको हो । जसमा अधिकाँश युवा उमेर समुहका रहेको उनले बताए ।
जसमा आर्थिक वर्ष २०७५/०७६ मा १ सय २९ जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ९० जना, आ.व २०७७/०७८ मा ७९ जना र चालु आर्थिक वर्षमा ५९ जनालाई प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको भन्दै पक्राउ गरेको हो ।
जसमा ३१ जना महिला र ३ सय २६ जना पुरुष रहेको प्रहरीको तथ्याँक रहेको छ । डिएस्पी घर्तीले सम्पन्न परिवार देखी न्युन आयस्तर भएका तर सबै युवा उमेर समुहका कारोबारमा संलग्न भएको बताए ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले लागु औषध नियन्त्रणका लागि चेकजाँचमा कडाई गरेको उनले सुनाए । प्रदेशका अन्य जिल्लाका युवाहरु समेत वीरेन्द्रनगरमा बसेर लागुऔषध कारोबारमा संलग्न भएको घर्तीले बताए ।

फरकबाटो १० माघ २०७८, सोमबार १३:४७