सुर्खेतमा १२ वर्षदेखि बाँधेर राखिएका युवकको उद्धार

सुर्खेत । सुर्खेतमा १२ वर्षदेखि मनोसामाजिक समस्या भइ बाँधेर राखिएका एक युवकको उद्धार गरिएको छ । गुर्भाकोट नगरपालिका –१ राम्रीकाँडाका ३२ वर्षीय विकास सोमैको शनिबार उद्धार गरिएको हो ।

गुर्भाकोट नगरपालिकाको पहल तथा अनुरोधमा मानव सेवा आश्रम सुर्खेतले उनलाई उद्धार गरेको छ । उनलाई मानव सेवा आश्रम सुर्खेतमा राखिएको जिल्ला संयोजक संजिता गौतमले जानकारी दिइन ।

सोमैलाई बाँधिएको अवस्थामा उद्धार गरिएको गौतमले बताइन । सोमैको घरको आर्थिक अवस्था कमजोर रहेको छ । परिवारले औषधि उपचार गर्न नसकेपछि घरमै राखेको र परिवारलाई समाल्न समस्या भएपछि बाँधेर राखिएको उनले जानकारी दिइन ।