
सुर्खेत । सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ । कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताएका छन् ।
असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उनले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गरेका हुन् ।
यसअघि आजै विद्यार्थीहरूले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका थिए । परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ । उनीहरूले उत्तरपुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन् ।
त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ ।

फरकबाटो ११ असार २०८३, बिहीबार १७:४४