सुर्खेत । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई बुझाएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रदेश प्रमुख कलौनीलाई प्रतिवेदन पेस गरेका हुन् ।
अध्यक्ष थापाले आदिवासी जनजाति आयोगले हालसम्म गरेका महत्त्वपूर्ण कार्यहरू,आगामी कार्ययोजना र आयोगले सरकारलाई दिएका महत्त्वपूर्ण सुझावहरूको बारेमा प्रदेश प्रमुख कलौनीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख कलौनीले समृद्ध नेपाल हुनका लागि सबै जातजातिको समान विकास हुनुपर्ने बताउँदै आयोगले गरेका कामहरूको प्रशंसा गरेका थिए ।
कार्यक्रममा आयोगका सदस्य डा. मीनबहादुर श्रीस, कर्णाली प्रदेश सभाका सदस्य एवम् पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आदिवासी जनजाति महासङ्घ कर्णाली प्रदेशका मुख्य सचिव खगेन्द्र पुन मगर, आदिवासी जनजाति महासङ्घ सुर्खेतका जिल्ला अध्यक्ष जीवनकुमार शाक्य, कुमाल महासङ्घका लाले कुमाल, नेपाल मगर सङ्घ कर्णाली प्रदेशका सल्लाहकार हरि थापा, नेपाल मगर सङ्घ सुर्खेतका अध्यक्ष दिलबहादुर वंशीमगर, कुमाल समाजका बिक्रम कुमाल, प्रदेश प्रमुखको कार्यालय सुर्खेतका कर्मचारीहरू लगायतको उपस्थिति थियो ।
फरकबाटो १२ कार्तिक २०७८, शुक्रबार २०:२२