पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि


सुर्खेत । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् भोलिदेखि अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् ।

समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले जानकारी दिए । उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एअरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् ।

पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको हो । यसअघि गएको वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । २०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल २०७३ सालमा विमानस्थलको शिलान्यास गरिएकामा २०७४ सालदेखि निर्माण सुरु भएको हो ।