एक साथ चार भाषामा चलचित्र लप्पनछप्पन–२

काठमाडौं । नेपाली चलचित्र नेपाली र अंग्रेजी भाषामा रिलिज हुने गर्दै आएकोमा चलचित्र लप्पनछप्पन–२ एक साथ चार भाषामा बनेको छ । यो चलचित्र नेपालीसहित हिन्दी, तामिल र तेलुगु भाषामा तयार गरिएको यसका निर्देशक मुकुन्द भट्टले बताएका छन् ।

यो चलचित्र शुक्रबार २० फागुनबाट देशव्यापी रिलिज हुँदै छ । त्यसपछि यो चलचित्रलाई भारत तथा अन्तर्राष्ट्रिय बजारमा रिलिज गरिने भएको छ, ‘भारतमा रिलिजको लागि हिन्दी, दक्षिणी भारतमा रिलिजका लागि तमिल र टेलुगुमा तयार गरेका हौं । भारतमा भने यो ओटीटी अर्थात् डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ,’ निर्देशक भट्टले आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बताए ।

चार भाषामा निर्माण भइसकेको यो चलचित्रलाई अंग्रेजी भाषा र चिनियाँ भाषामा ‘सब टाइटल’ गरिने भएको छ । विदेशी बजारका लागि अंग्रेजी भाषामा सबटाइटल गरिएको पनि निर्देशक भट्टले बताए । चलचित्रलाई चिनमा रिलिज गर्न चिनियाँ भाषामा सब टाइटल गरेको पनि उनले जानकारी गराए ।

युरोपका विभिन्न पाँच मुलुक र नेपालमा छायांकन गरिएको यो चलचित्र हेरेपछि भारतका फिल्म वितरकले त्यहाँको तीन भाषामा पनि यो चलचित्रलाई स्वरांकन गरेको पनि भट्टले जानकारी गराए । यो चलचित्रले नेपाली फिल्मलाई फेरि एकपटक अन्तर्राष्ट्रिय बजारमा चिनाउने उनको विश्वास छ ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदीपचन्द्र बखरेल र सन्तोषचन्द्र बखरेलले यो चलचित्र निर्माण गरेका हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नवीन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एन्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय छ । तीन वर्षअघि निर्मित ‘लप्पनछप्पन’ले राम्रो चर्चा पाएपछि ‘लप्पनछप्पन–२’ निर्माण गरिएको निर्माण पक्षको कथन छ ।