काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा र रंग पत्रकार सुजन श्रेष्ठबीचको विवाद प्रहरीमा पुगेर मिलेको छ । शुक्रवार गौशालामा प्रहरी वृत्तमा दुबैपक्षको छलफलबाट विवाद सुल्झिएको हो ।

नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच केही घण्टाको छलफलपछि विवाद मिलेको हो । छलफलमा निर्देशक थापाले आफूले गालीगलौज गरेको गल्ती स्विकार्दै आत्मालोचना गरेर अब यस्तो गल्ती नदोहोर्याउने भनेपछि विवाद सहमतिमा पुगेको थियो ।
निर्देशक थापाले गल्ती स्विकारेर आत्मालोचना गर्दै गल्ती नदोहोर्याउने भनेपछि विवाद सहमतिमा टुङ्गिएको नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीले बताए । थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले बक्स अफिसमा गरेको व्यापारको विषयमा पत्रकार श्रेष्ठले केही दिनअघि लेखेको समाचारलाई लिएर दुबैबीच तनाव उत्पन्न भएको थियो ।
समाचारको विषयलाई लिएर निर्देशक थापाले श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएका थिए । उक्त धम्कीको अडियोसहित पत्रकार श्रेष्ठले बिहीबार प्रहरी वृत्त गौसालमा थापाविरुद्ध गाली बेइज्जती र धम्की दिएको भन्दै उजुरी दिएका थिए ।

फरकबाटो ३१ भाद्र २०७९, शुक्रबार १९:००