
सुर्खेत । शिक्षक र विद्यार्थीहरुलाई इन्टरनेट सम्बन्धी तालिम प्रदान गरिएको छ । नेपाल स्काउट कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा एक दिने तालिमको आयोजना गरिएको हो ।
इन्टरनेटबाट कसरी सुरक्षित हुने बिषयमा तालिम दिइएको हो । तालिममा रोबर रेन्जर कुस्मा गुरुङले सोसल मिडिया चलाउँदा सुरक्षित भएर चलाउनुपर्ने बताइन् । उनले सोसल मिडियामा पोस्ट गर्ने मिल्ने र नमिल्ने बारेमा जानकारी दिएकी थिइन् । रोवर रेन्जर स्काउट कर्णाली प्रदेशका गणेश पाण्डेका अनुसार तालिममा रोवर रेन्जर अर्जुन शाहीले इन्टरनेट कुन प्रयोजनको लागि चलाउने, सञ्चार कसरी प्रवाह हुन्छ, सोसल मिडियामा पासपोर्ट राख्दा कस्ता कुरामा ध्यान दिने, सही र गलत सुचना र समाचार कसरी थाहा पाउने र कसरी घरपरिवारलाई इन्टरनेटको बारेमा शिक्षित बनाउने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।
नेपाल स्काउट कर्णाली प्रदेशका संयोजक कमल बोहराको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिममा जिल्लाका वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका ,लेकबेशी नगरपालिका, चिङ्गाड गाउँपालिका र गुर्भाकोट नगरपालिकामा स्काउट कार्यक्रम संचालन भएका विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई दिइएको हो । तालिममा २३ जनाको सहभागिता रहेको थियो ।
यस्तै उक्त कार्यक्रमको समापन गर्दै संयोजक बोहराले प्रत्येक विद्यालयमा कार्यक्रमहरु सञ्चालन गर्न शिक्षकलाई अनुरोध गर्दै स्काउट कार्यक्रम लाई अझ प्रभावकारी बनाउनका लागि आफू जस्तो सुकै अवस्थामा पनि पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे ।

फरकबाटो २४ माघ २०७८, सोमबार २०:५१