दैलेखका युवाहरुलाई रिफ्लेक्ट कक्षा

सुर्खेत । दैलेखका युवाहरुका लागि रिफ्लेक्ट सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको छ । सात दिनसम्म चल्ने तालिमको आजदेखी उद्घाटन गरिएको हो । युरोपियन युनियन र अक्सफामको सहयोगमा सञ्चालित युथ लिड जेशी परियोजना अन्र्तगत युवाहरुका लागि तालिम आयोजना गरिएको हो ।

तालिममा दैलेख जिल्ला भगवातीमाई गाउँपालिकाका ५ जना र डुङ्गेश्वर गाउँपालिकाका ५ जना रिफ्लेक्ट सहजकर्ताहरुको सहभागिता रहेको युवालय दैलेखका जिल्ला संयोजक मिना बिस्वकर्माले जानकारी दिइन् ।

तालिममा युवाहरूको क्षमतालाई सुदृढ गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा वकालत, संचार, नीति संवादको लागी युवा सामूहिक कार्यहरुका लागी अवसरहरु प्रदान गर्ने, पीडित र युवाहरूका लागि कोभिड १९ तत्काल र पुर्नस्थापना सेवाहरू प्रदान गर्न स्थानीय सेवा प्रदायकहरूको क्षमतालाई बलियो बनाउने विषयमा प्रशिक्षण प्रदान गरिनेछ । ।

यस्तै दिगो व्यवसायको विकास गर्न युवाहरू माझ आर्थिक क्षमतालाई सुदृढ गर्ने र प्राविधिक र वित्तीय अवसरहरूमा युवा र महिलाको पहुँच सुधार गर्न स्थानीय सरकार, वित्तीय संस्थाहरू र सहकारीहरूसंग समन्वय गरि युवा नेत्तृत्व बृद्धीगर्ने लगायतका विषयमा छलफल हुनेछ ।

तालिम पश्चात सहजकर्ताहरुले ग्रामीण क्षेत्रमा रिफ्लेक्ट साक्षरता कक्षा सञ्चालन गर्नेछन् । युवा, महिला, अपांगता भएका व्यक्ति, आर्थिक रुपमा बिपन्न समुदायका व्यक्तिहरुलाई सहभागी गराएर सहजकर्ताहरुले कक्षा सञ्चालन गर्नेछन् । वित्तिय साक्षरता कक्षा तीन महिनासम्म चल्ने युवालय दैलेखका जिल्ला संयोजक बिस्वकर्माले जानकारी दिइन् ।

७ दिन सम्म संचालन हुने तालिममा समुदाय स्तरमा युवाहरुले भोगेका समस्याको सहजीकरण सिप बिकास तथा नेत्तृत्व बिकासका लागि सहभागीहरुलाई लोकतान्त्रिक समूह निर्माण गरी एक अर्कामा तालिम अवधिभर प्रतिस्पर्धात्मक रुपमा अगाडि बढाउने तालिकाका श्रोत व्यक्ति सोनालाल चौधरीले बताए ।