जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा बन्द

सुर्खेत । जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु उपचाररत रहेको बताए । उनका अनुसार प्रशासनमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यजनर गर्दै पाँच दिनका लागि नियमित सेवा बन्द गरिएको हो । उनका अनुसार भोलि  १७ गते देखि २१ गतेसम्मका लागि सेवाप्रवाह बन्द गरिएको हो ।

प्याकुरेलले मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाहरु भने नियमित रुपमा सञ्चालन हुने बताए ।

शनिबारसम्म जिल्लामा ८६ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।