सुर्खेत । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गत नं.२ राजदल गणमा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७८“ सम्पन्न भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाबाट अवकाश प्राप्त एवं बहालवाला सैनिकहरुको साझा घर रहेको र भूतपूर्व सैनिकहरुले स्थान विशेषमा रहेर गर्नु भएका सेवाले समग्रमा नेपाली सेनाको छविलाई उच्च बनाउन सहयोग पुगेको बताए । नेपालमै बसेर परिश्रम गरे सफल भईन्छ भन्ने सन्देश दिदैँ उनले वेलफेयर भिजन २०३० अनुरुप हिताधिकारीहरुको असिमित चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको जानकारी गराए ।
उनले हाल संचालन भईरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराउँदै नेपाली सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म यस किसिमका सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने उल्लेख गरे ।
सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा एकल महिलाहरुलाई सम्मान गर्नुका साथै सर्वोत्कृष्ट उद्यमी व्यवसायीहरलाई प्रशंसा पत्र तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा आफनो चार जना सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमाबुबालाई सम्मान समेत गरिएको थियो । साथै अशक्त व्यक्तिहरुलाई व्हिलचियर, बैशाखी तथा आर्थिक सहयोग गरिएको थियो । लघुवित्त कार्यक्रम एवं उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भूतपूर्व सैनिक तथा एकल महिलाहरुले मार्चपाष्ट, नेपाली सेनाले स्थान विशेषको झाँकी, संस्कृति झल्किने नाँच, तेक्वान्दो, पिटी र सैनिक व्याण्डको प्रस्तुत गरिएको थियो ।
सम्मेलेनमा दुई हजार नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारको सहभागिता रहेको थियो ।
फरकबाटो २० चैत्र २०७८, आईतवार १८:०७