सुर्खेत । बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले हिजो बेलुका ६ बजेदेखि देशैभर कर्फ्यूको घोषणा गरेको छ ।
कर्फ्यू अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहने गृह मन्त्रालयले जनाएको छ । बङ्गलादेशमा भइरहेको प्रदर्शन हिंसात्मक हुँदा अहिलेसम्म ९० जनाको मृत्यु भइसकेको छ ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न माग गरेका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।
गएको महिना विद्यार्थी सङ्गठनहरूले यही नियमको विरोधमा प्रदर्शन गरेपछि अदालतले धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आम मानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको थियो । विद्यार्थीहरुले फेरि सबै आरक्षण हटाउनुपर्ने भन्दै प्रभानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन शुरु गरेका हुन् ।
फरकबाटो २० श्रावण २०८१, सोमबार १०:१५