प्रदेश प्रहरी विधेयकले मानबअधिकारको रक्षा गरोस्

सुर्खेत । ‘सबैभन्दा बढि मानबअधिकारको उलंघन हुने निकाय प्रहरी हो । उसो त मानबअधिकारको रक्षा समेत प्रहरीले नै गर्छ । कर्णालीमा मानबअधिकार उलंघनका घटना प्रहरीबाट पनि घटेको इतिहास छ ।’ मानबअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले खुलेरै बोले ।

प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी प्रहरीहरु ढकालले त्यसो भनिरहँदा मुस्कुराईरहेका थिए ।

ढकालले आफ्नो कुरा भनि नसक्दै बरिष्ठ अधिवक्ता कृष्ण हमालले थपिहाले ‘मानबअधिकारमैत्री कानुन निर्माण गर्नुपर्छ, “प्रहरी मानबअधिकार उलंघन नगर्नका लागि सचेत छ भन्ने प्रावधान विधेयकमा हुनुपर्छ ।” प्रदेश प्रहरीले समेत मानबअधिकार सेलको व्यवस्था गर्नुपर्ने उनले धारणा राखे ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले समेत मुस्कान सहितको सेवामा निरन्तरताका साथै भौगोलिक क्षेत्रका आधारमा पनि प्रहरी दरबन्दि सृर्जना गर्नुपर्ने बताए । उनले प्रहरीको समेत मानबअधिकार रक्षाका लागि सेवा–सुविधामा हेरफेर गर्नुपर्ने तर्क गरे ।

मंगलबार वकालत मञ्च नेपालले आयोजना गरेको कर्णाली प्रदेश प्रहरी सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा र मानबअधिकार विषयक छलफल कार्यक्रममा सहभागीहरुले प्रहरीले मानबअधिकारको रक्षाका लागि कानुनी व्यवस्था नै गर्नुपर्ने बताएका हुन् ।

नागरिक समाजको तर्फबाट प्रहरीले मानबअधिकारको रक्षा गर्नुपर्ने धारणा आएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीले प्रहरीको समेत मानबअधिकार हुने बताए । उनले काम गर्ने क्रममा कुनै कर्मचारीले मानबअधिकारको उलंघन गरेको भए त्यसको जिम्मेवारी सोही कर्मचारीले लिनुपर्ने सुनाए ।

कर्णाली प्रदेशका मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले कारागारमा रहेका कैदीबन्दीहरुको समेत मानबअधिकारको रक्षा भएननभएको अनुगमन गरिनुपर्ने बताए ।

उनले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सन्दर्भमा जुनसुकै समयमा पनि कानुनी सल्लाह दिन आफु तयार भएको सुनाए । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकको मस्यौदा हतारमा तयार गरेको भन्दै थुप्रै कुराहरु समेट्न जरुरी भएको उनले बताए ।

कार्यक्रममा नागरिक समाज, प्रहरी र कर्मचारीहरुको सहभागीता रहेको थियो ।