काठमाडौं । लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ। विवादले हिंसाको रुप लिएको छ।

पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। घटनामा कयौँ मानिस घाइते भएको त्रिपोलीका स्वास्थ्यमन्त्रीले बताएका छन्। अधिकारीहरुका अनुसार झडपमा त्यहाँका एक युवा हाँस्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ।
लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरुमा देश शान्त थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन्।
राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलुसहित स–साना हतियार बोकेका मिलिसियाहरु देखिन थालेको र ठाउँ ठाउँमा विस्फोट हुन थालेको जनाइएको छ।
यो घटनापछि संयुक्त राष्ट्र संघले युद्ध बिराम गर्न दुवै पक्षलाई आग्रह गरेको छ। राष्ट्र संघले वार्ताको माध्यमबाट समाधान खोज्न र हिंसा रोक्न दुवै पक्षलाई आग्रह गरेको हो।

फरकबाटो १२ भाद्र २०७९, आईतवार १०:३२