राष्ट्रपतिमा मत माग्दै एमाले नेताहरू रास्वपा कार्यालयमा


सुर्खेत । नेकपा एमालेका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय बसुन्धरा पुगेका छन् । राष्ट्रपतिमा पार्टी उपाध्यक्षसमेत रहनुभएका सुवास नेम्वाङलाई मत माग्न एमाले नेताहरू बिहीवार दिउँसो रास्वपा पार्टी कार्यालय पुगेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरूसँगको भेटमा एमाले नेताहरूले नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । भेटमा एमालेबाट राष्ट्रपति उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायत नेताहरू सहभागी छन् । यस्तै रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरू छन् ।

यसअघि एमाले नेताहरू नेम्वाङलाई मत माग्दै आजै दिउँसो नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए ।