लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरियो


सुर्खेत । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावमा आफूले दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो ।

लुम्बिनीमा उपचुनावका लागि तीन दलका उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । माघ ११ गते उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएको हो । नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको बताइन् । सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ ।

त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ । एमालेबाट रोल्पाका कुमार दसौदी, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ‍ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनावअन्तर्गत माघ २५ गते मतदान हुनेछ । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमवार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न प्रदान गरिएको जानकारी दिए ।