सडकमा अलपत्र परेका एक जना व्यक्तिको उद्धार

सुर्खेत । मानव सेवा आश्रम सुर्खेतले सडकमा अलपत्र परेका एक जना व्यक्तिलाई उद्धार गरेको छ ।

बराहताल गाउँपालिका वडा नं ५ बड्डिचौरबाट सडकमा अलपत्र परेका स्थायी घर दाङ, धनौरी बताउने गेहेन्द्र खड्कालाई आश्रमले उद्धार गरेको हो ।

गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतको पहलमा उद्धार गरिएको आश्रमका सहसंयोजक उद्धव जोशीले जानकारी दिए । उक्त ठाउँमा दुई महिनादेखि अलपत्र अवस्थामा रहेको थाहा पाए पछि उद्धार गरेर आश्रममा राखिएको उनले बताए ।

मानवसेवा आश्रम सुर्खेतले कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाई बिगत तीन वर्षदेखि आश्रममार्फत सेवा दिइरहेको छ । हालसम्म दुई सय ५८ जनालाई उद्धार गरेको आश्रमले जानकारी दिएको छ ।

एक सय दुई जनालाई पारिवारिक पुर्नमिलन गराएको उनले जानकारी दिए । उनका अनुसार हाल मानव सेवा आश्रममा ७३ जना रहेका छन् ।