प्रदेश रंगशाला निर्माणको लागि शिलान्यास

सुर्खेत । कर्णाली  प्रदेश गौरबको आयोजनाको रुपमा रहेको प्रदेश रंगशाला निर्माणको शिलान्यास गरिएको छ ।

सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रम समारोहबिच रंगशालाको शिलान्यास गरेका हुन् । योसँगै अब रंगशाला निर्माणको काम अघि बढेको हो ।

मुख्यमन्त्री शाहीले रंगशालाको शिलान्यास गर्दै रंगशाला समयमै निर्माण सम्पन्न गरिने बताए । उनले प्रदेशको खेलकुदको विकासका लागि सरकारले ठोस कार्यक्रमहरु ल्याउने बताए । उनले भने, ‘हचुवाको भरमा निर्णय गर्दैनौँ । हामीले यहाँका खेलाडीहरुले कसरी पदक प्राप्त गर्न सक्छन् । कसरी अघि बढ्न सक्छन् भनेर आवश्यक स्रोत साधानको व्यवस्था गछौँ । खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गछौँ ।’ उनले कर्णाली प्रदेश सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समृद्धि र विकासका लागि अन्य प्रदेश अनुसार अघि बढ्ने बताए ।

रंगशाला निर्माणका लागि कात्तिक २८ गते  निर्माण कम्पनिसँग सम्झौता गरिएको थियो ।  रंगशाला निर्माणको जिम्मा एमएसी–जिएसएल कम्पनिले लिएको छ । रंगशाला ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

वीरेन्द्रनगर – ८ मा निर्माण गरिने रंगशाला कम्पनिले २०८१ जेठ ११ गते भित्र सम्पन्न गरिसक्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए । उनका अनुसार एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण हुनेछ । १० हजार दर्शक अट्ने र भलिबल, बास्केटलागतयका खेलहरु खेल्न मिल्ने रंगशालाभित्र एक हजार पाँच सय दर्शक हट्ने संरचनाहरु निर्माण हुने छन् ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले रंगशाला निर्माणको काम समयमै सम्पन्न गर्ने बताए । उनले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर रंगशााला निर्माणको कामलाई तिव्रता दिइने जानकारी दिए ।

रंगशालाभित्र भिआइपी वेटिङ रुम, भिआइपी प्यारोफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ स्थानलगायतका संरचनाहरु निर्माण गरिनेछ ।