
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई सय ८६ जनाका परिवारलाई एक लाखका दरले राहत स्वरुप उपलब्ध गराएको हो ।
प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा एक लाख उपलब्ध गराउने निर्णय गरेको थियो । हालसम्म दुई सय ८६ जनाको परिवारलाई उपलब्ध गराएको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण बहादुर रोकायले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म एक लाखका दरले दुई करोड ८६ लाख रुपैयाँ वितरण गरिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका तीन सय ८४ जनाको मुत्यु भएको छ ।
यस्तै शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाँकी रहेकाहरुलाई सम्बन्धित जिल्ला प्रशासनबाटै कागजातको एकिन गरी हकलावाको बैँक खातामा राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले व्यवस्था गर्ने उनले जानकारी दिए ।

फरकबाटो ५ कार्तिक २०७८, शुक्रबार १९:१२